Pura Samachar

१२ जिल्लामा कांग्रेसको वडा अधिवेशन शनिवारबाट शुरू हुँदै

प्रकाशित: November 13, 2021

१२ जिल्लामा कांग्रेसको वडा अधिवेशन शनिवारबाट शुरू हुँदै

काठमाडौं । देशका १२ जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन आजबाट शुरू हुँदैछ।

क्रियाशील विवादलगायतका विविध कारणले रोकिएका जिल्लामा वडा अधिवेशन आजबाट शुरू हुन लागेको हो । यसअघि भदौ १८ बाट शुरू भएको कांग्रेसको वडा अधिवेशन विभिन्न जिल्लामा सकिएका छन्।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, महोत्तरी, बारा, सोलुखुम्बु, दार्चुला, म्याग्दीमा आज वडा अधिवेशन हुँदैछ।

सिन्धुपाल्चोक, पर्सा र सर्लाहीमा भने आज पनि वडा अधिवेशन नहुने भएको छ। सिन्धुपाल्चोकमा ३० गते वडा अधिवेशन हुनेछ भने पर्सामा अझै टुंगो लागेको छैन। यता सर्लाहीका निर्वाचन अधिकृतले राजीनामा दिएकाले त्यहाँको अधिवेशन पनि अनिश्चित बनेको छ।

यसअघि अधिवेशन सकाइएका वडामा पनि पटक पटक गरी अधिवेशनको मिति तोकिएको थियो ।

वडा अधिवेशन सकाएपछि कांग्रेसले बाँकी रहेका गाउँ–नगर पालिका अधिवेशन कात्तिक ३०, प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक क्षेत्रमात्र भएको जिल्लामा जिल्ला अधिवेशन मंसिर ६, एकभन्दा बढी क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर १० मा गर्ने तालिका निकालेको छ ।

प्रदेश अधिवेशन मंसिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मंसिर २४–२६ काठमाडौंमा गरिने छ ।

प्रतिक्रिया