Pura Samachar

मङ्सिर १ देखि विद्युतीय राहदानी

प्रकाशित: November 13, 2021

मङ्सिर १ देखि विद्युतीय राहदानी

काठमाडौं । आउँदो मङ्सिर १ गतेदेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गरिने भएको छ ।

आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि नेपालमा औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएकाले त्यसैको तयारी स्वरूप परीक्षण वितरण सुरु गर्न थालिएको राहदानी विभागले जनाएको छ ।

अघिल्लो महिनादेखि नै परीक्षण वितरण सुरु गर्ने भनिए पनि बीचमा परेको चाडका कारण एक महिना ढिला गरी विद्युतीय राहदानीको परीक्षण सुरु हुन लागेको हो । विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार परीक्षण सकिएलगत्तै सन् २०२२ को जनवरी महिनाको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याउने तयारी विभागको रहेको छ ।

मङ्सिर १ गतेदेखि केही हप्ता विभागबाटै परीक्षणको विद्युतीय राहदानी वितरण गरिने योजना रहेको विभागका निर्देशक तथा प्रवक्ता शरदराज अरनले बताउनुभयो । त्यसपछि औपचारिक वितरण सुरु भएसँगै प्रदेश तथा जिल्ला स्तरमा विद्युतीय राहदानी वितरण गरिनेछ ।

त्यसका लागि यतिबेला विभाग अन्तिम तयारीमा जुटेको छ । अरनका अनुसार विद्युतीय राहदानी वितरणका लागि प्राविधिक तथा प्रशासनिक सबै खालको तयारी अन्तिम चरणमा रहेको छ ।

गत वर्षको सेप्टेम्बर महिनामा फ्रान्सेली कम्पनीसँग सम्झौता गरेर विद्युतीय राहदानी उत्पादन अघि बढाइएको थियो । गत वर्षको डिसेम्बर २३ मा करिब साडे दुई अर्ब रुपियाँ लागतको सम्झौता विद्युतीय राहदानीका लागि भएको थियो ।

हालको मेसिन रिडेबल राहदानी र विद्युतीय राहदानीमा फरक छ ?

मेसिन रिडेबल राहदानीको तस्विर भएको पेज अर्थात् डाटा पेजमा अप्टिकल क्यारेक्टर रिकगनाइजेसन फम्र्याटमा मेसिन रिडेबल जोन हुन्छ। राहदानी रिडर मेसिनले रिड गर्दा राहदानीमा उल्लेखित महत्वपूर्ण विवरणहरू देखिन्छन्। विद्युतीय राहदानीमा यसको अलावा विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुन्छ। चिपमा औंठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरू हुन्छन्। यी विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन।

प्रतिक्रिया