
बागलुङ- बागलुङ, पूर्वी रुकुम र रोल्पाको सङ्गमस्थल तिलाचन धुरीमा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ ।
पातीहाल्नेसमेत भनेर चिनिने त्यस उच्च पहाडी भेगमा टेलिकमको मोबाइल र इन्टरनेट सेवा पुगेको हो ।
यहाँको निसीखोला गाउँपालिका–६ मा २५ मिटर अग्लो बिटियस टावर निर्माण गरी सेवा सञ्चालनमा ल्याइएको टेलिकम बागलुङ कार्यालयका प्रमुख एवं वरिष्ठ इञ्जिनीयर केशव शर्माले जानकारी दिनुभयो ।
टेलिकमले सेवा विस्तार गरेसँगै त्यस क्षेत्रका सर्वसाधारणले मोबाइल र उच्च गतिको फोरजी इन्टरनेट प्रयोग गर्न पाएका छन् ।
यसअघि त्यहाँ कुनै पनि दूरसञ्चार सेवा पुग्न सकेको थिएन ।
मध्यपहाडी पुष्पलाल लोकमार्ग भएर पातीहाल्ने हुँदै बागलुङ–रुकुम आउजाउ गर्ने यात्रुसमेत सञ्चारबाट वञ्चित हुनुपर्ने स्थिति थियो ।
लोकमार्गले छिचोलेपछि तिलाचन धुरी र त्यस आसपासमा बढ्दो पर्यटकीय गतिविधि तथा यात्रुको सुविधालाई हेरेर सेवा विस्तार गरिएको प्रमुख शर्माले बताउनुभयो ।
त्यहाँ बस्ती भने कम छ ।
तल्लो भेगका किसान मौसमी रुपमा पशुचौपाया लिएर तिलाचन लेक जाने गर्छन् ।
पहिले पहिले तीनै जिल्लाका गोठालाको बसोबास क्षेत्रका रुपमा पनि त्यो ठाउँलाई चिनिन्थ्यो ।
‘मुख्य गरी राजमार्ग र पर्यटकीय क्षेत्रलाई लक्षित गरी तिलाचन धुरीमा टेलिकमको सेवा विस्तार गरिएको हो, त्यसबाट स्थानीयवासीलाई पनि लाभ मिलेको छ’, प्रमुख शर्माले भन्नुभयो ।
उहाँले जिल्लाका कुनाकाप्चासम्म टेलिकमको गुणस्तरीय सेवा पुर्याउने अभियानमा आफूहरु लागिपरेको बताउनुभयो ।
पहिलो पटक टेलिकमको सेवा पुगेपछि तिलाचन धुरीको नजिक बसोबास गरिरहेका तीनै जिल्लाका सर्वसाधारण खुसी छन् ।
भौगोलिक विकटता भए पनि सञ्चार सुविधाले गाउँलेको दैनिकी सहज बनेको छ ।
लोकमार्गदेखि खच्चरमा उपकरण र सामग्री बोकाएर टेलिकमले तीन हजार ४०० मिटर उचाइको धुरीमा टावरको संरचना खडा गरेको थियो ।
अहिले दिइएको सेवालाई थप गुणस्तरीय बनाउन पछि उपकरण र प्रविधि थपिने टेलिकमले जनाएको छ ।
विद्युत् सेवा नपुगेकाले सौर्य ऊर्जामार्फत टावर सञ्चालनमा ल्याइएको छ ।
मोबाइल र इन्टरनेट सुविधाले पर्यटकलाई थप आकर्षित गर्न सकिने पातीहाल्नेका होटल व्यवसायी किस्मत मगरले बताउनु भयो ।
उहाँले पछिल्लो समय त्यस ठाउँमा घुमफिर, वनभोजलगायत मनोरञ्जनका लागि आउनेको सङ्ख्या बढ्दो छ ।
त्यहाँ रहेका रिगा र तिलाचन तालले पनि पर्यटकीय आकर्षण थपेको छ ।
मनोरम भू–बनोट, गाउँले जनजीवन, प्राकृतिक सुन्दरता र संस्कृतिले पर्यटकलाई लोभ्याउने गरेको छ ।
लोकमार्ग कालोपत्र भएपछि पर्यटकको आउजाउसमेत सहज बनेको छ ।
बागलुङ सदरमुकामदेखि १४२ किमिमा पातीहाल्ने पर्छ ।
प्रतिक्रिया