
काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुङिगएको हो ।
यस बराबरी खेलसँगै सातदोबाटो र फ्रेन्ड्सले पहिलो खेलमा एक/एक अङ्क बाँडेका छन् ।
खेलको पहिलो हाफको ११औँ मिनेटमा सातदोबाटोका कप्तान मानबहादुर तामाङले डिबक्समा दिएको पासलाई सुशील राईले पोष्टको दिशा दिन सकेनन् ।
त्यस्तै खेलको १९औँ मिनेटमा आकाश बुढामगरको फ्रिकिक पोष्ट माथिबाट बाहिरियो ।
खेलको दोस्रो हाफको सुरुआतमै सातदोबाटोका मार्टिन्स अजयीले सिक्स यार्ड बक्सबाट गोल गर्न सकेनन् ।
उनको हेड प्रहार बाहिरिएको थियो ।
त्यस्तै खेलको ५७औँ मिनेटमा सातदोबाटोका आकाशबुढा मगरको सशक्त प्रहार फ्रेन्ड्सका गोलकिपर राहुल रामचन्द्र यादवले पन्च गर्दै बाहिर पठाए ।
खेलको ५९औँ मिनेटमा फ्रेन्ड्सका नाथननिल गार्सियाको प्रहार पोस्ट बारमा लाग्दै फर्किएको थियो ।
सातदोबाटोका गोलकिपर अभिषेक बराल अघि बढेको मौकामा गार्सियाले प्रहार गरेका थिए ।
खेलको ६६औँ मिनेटमा फ्रेन्ड्सका गार्सियाको प्रहार सातदोबाटोका गोलकिपर अभिषेकले मुश्किलले बचाए ।
खेलको ७६औँ मिनेटमा फ्रेन्ड्स १० खेलाडीमा समेटियो ।
डिफेन्डर रोनिल एन्थोनी पाउलले दुई पहेलो कार्डसहित रातो कार्ड पाएपछि फ्रेन्ड्स १० खेलाडीमा सीमित भएको हो ।
खेलको इन्जुरी समयमा सातदोबाटोले गोलको सुनौलो मौका गुमायो ।
सुशील राईको प्रहार गोललाइन नजिकैबाट फ्रेन्ड्सका कप्तान सुरजले बचाए ।
लिगको उपाधि विजेता टोलीले रु ७५ लाख तथा उपविजेताले रु ५० लाख प्राप्त गर्नेछन् ।
लिगअन्तर्गत भोलि दुई खेल हुनेछन् ।
पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा च्यासल युथ क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ ।
प्रतिक्रिया