Pura Samachar

ललितपुर महानगरमा दैनिक कोभिशिल्ड र भेरोसिल खोप

प्रकाशित: November 22, 2021

ललितपुर महानगरमा दैनिक कोभिशिल्ड र भेरोसिल खोप

ललितपुर महानगरपालिकाले कोरोना विरुद्धको कोभिशिल्ड र भेरोसिल खोप शनिबारबाहेक बाँकी सबै दिन लगाउने भएको छ।

आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि ३ बजेसम्म महानगरपालिकको जनस्वास्थ्य शाखा छाबहालमा खोप लगाउने व्यवस्था गरिएको महानगरले जनाएको छ।

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले खोपमा नागरिकको सहज पहुँच होस् भन्ने हेतुले उक्त निर्णय गरेको बताए। ‘यसअघि हामीले मिति तोकेर खोप कार्यक्रम सञ्चालन गथ्र्यौं, तोकेकै मितिमा आएर खोप लिन केही नागरिक असमर्थ भएकोे पनि जानकारीमा आयो, त्यसैले यस्तो निर्णय गरेका हौं,’ उनले भने।

नागरिकको सहजताको लागि महानगरले साताको ६ दिन खोप कार्यक्रम सञ्चालन गरेको उनले बताए। साताको ६ दिन खोप लगाउने व्यवस्थाले खोप लिन सबैलाई सहज हुने उनको भनाई थियो।

ललितपुर महानगर लगातार कोरोना विरुद्धको खोप सञ्चालन गर्ने पहिलो स्थानीय तह हो।

महानगरले यसअघि उमेर ,व्यक्तिको स्वास्थ्य अवस्था लगायतलाई प्राथमिकतामा राखेर खोप कार्यक्रम सञ्चालन गरेको थियो।

कोरोना नियन्त्रण र कोराना संक्रमण अत्यधिक फैलिएको बेला व्यवस्थित र बिरामीका लागि सुविधा सम्पन्न नमूना आइसोलेसन संचालन गरेकोमा समेत ललितपुर महानगरको प्रसंशा भएको थियो।

यसैगरी कोरोना विरुद्धको खोप पनि महानगरमा सौहार्दपूर्ण ढंगमा संचालन भइरहेको छ ।

प्रतिक्रिया