
काठमाडौं । नेकपा एमालेले गत असोजमा विधान परिवर्तन गरेर पार्टीमा वरिष्ठ उपाध्यक्ष पद हुने व्यवस्था गरेको छ ।
उक्त पद हालका महासचिव ईश्वर पोखरेललाई व्यवस्थापन गर्न लक्षित गरेर सिर्जना गरिएको एमाले नेताहरुले बताउदै आएका छन् । तर चितवनमा हुने १० औं महाधिवेशनमा पोखरेलले सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्ष बन्ने सम्भावना भने क्षीण बन्दै गएको छ । वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङ र रामबहादुर थापा बादल समेत आकांक्षी भएपछि चुनावको विकल्प नहुने अवस्था देखिएको छ ।
नेता नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा नै गर्नुभएको छ ।
एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता समेत रहेका नेम्बाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको तर चुनाव हुने अवस्था आए वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
यसअघि एमाले उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ । यस्तै महासचिवमा पनि सुरेन्द्र पाण्डे र घनश्याम भुसालले उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ ।
योसँगै यसपटकको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने एमाले अध्यक्ष ओलीको सपना अधुरो रहने मात्र होइन नेताहरुको चित्त ब्झाउन समेत सकस पर्ने देखिएको छ । आकांक्षीहरु धेरै हुँदा आफू पक्षका नेताहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने द्धिविधामा ओली पुग्नुभएको स्रोतको भनाइ छ ।
प्रतिक्रिया