Pura Samachar

टी–२० महिला विश्वकप छनौटमा नेपालले भुटानलाई ८ विकेटले हरायो

प्रकाशित: November 23, 2021

टी–२० महिला विश्वकप छनौटमा नेपालले भुटानलाई ८ विकेटले हरायो

काठमाडौं । आइसिसी टी–२० महिला विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको छ।

युएईमा भइरहेको प्रतियोगितामा नेपालले मंगलबार भुटानलाई हराएको हो।

भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले ८.३ ओभरमा २ विकेट गुमाएर पार गर्‍यो।

नेपालको जितमा सीता रानामगरले १७ रन जोडिन्। उनले १३ बलमा २ चौका प्रहार गरिन्। कप्तान रूबिना क्षेत्री १० रनमा रनआउट भइन्। इन्दू बर्माले नटआउट २६ रन जोडिन्। उनले २६ बल नै खेल्दा २ चौका हिर्काइन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले ६ विकेटको क्षतिमा ६१ रन जोड्यो। भुटानका लागि ओपनरद्वय नवाङ छोडेन १३ रन र सोनाम पाल्दनले ११ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङमा नेपालकी सीता रानामगरले ३ विकेट लिइन्। उनले ४ ओभरमा १० रन खर्चिइन्। करुणा भण्डारीले १ विकेट हात पार्दा भुटानका दुई ब्याटर रनआउट भए।

अब नेपालले तेस्रो खेलमा बिहीबार कुवेतसँग खेल्नेछ।

छनोटको अंक तालिकामा युएई लगातार दुई जित निकालेर ४ अंक जोड्दै शीर्ष स्थानमा छ। नेपाल, भुटान र हङकङले २–२ अंक जोडेका छन्।

प्रतिक्रिया