
सर्लाही । नेपाली कांग्रेस जिल्ला अधिवेशनबारे सतहमै देखिएकोे विवाद मिलेको छ । केन्द्रीय पार्टी कार्यालय सानेपामा चार दिनसम्म चलेको वार्तापछि मंगलवार केन्द्रीय समितिले जिल्लाका दुबै समूहलाई सहमतिमा ल्याएको हो ।
सहमति भएसँगै सर्लाहीमा कांग्रेसको अधिवेशन गराउन नयाँ निर्वाचन अधिकृतको रुपमा भरत राउतलाई खटाइएको छ। राउत यसअघि जिल्लामा छ निर्वाचन क्षेत्रबाट चार वटा निर्वाचन क्षेत्र कायम गर्दा कांग्रेस नेताहरुको समायोजनका लागि सर्लाही आएका थिए ।
सर्लाहीमा मुख्यगरी वडा स्तरमा खटिने मतदान अधिकृतको विषयमा विवाद भएकाले कांग्रेसको अधिवेशन नै शुरु हुन सकेको थिएन । अहिले भने केन्द्रीय निर्वाचन समिति आफैले क्षेत्र नं १ कालाई क्षेत्र नं ३ तथा क्षेत्र नं ३ कालाई क्षेत्र नम्बर १, क्षेत्र नं २ कालाई क्षेत्र नंं ४ र क्षेत्र नं ४ कालाई क्षेत्र नं २ मा खटाएको छ ।
कुन मतदान अधिकृतलाई कुन वडा पर्र्यो भन्नेबारे गोप्य नै राखिएको छ । वडा स्तरमा मतदान गराउन कांग्रेस निकटकै शिक्षकहरुलाई मतदान अधिकृतको रुपमा खटाइने छ ।
निर्वाचन समितिले मतदान अधिकृत खटाएसँगै अब कांग्रेसको वडा अधिवेशन मंसिर ९ वा १० गते हुने जिल्ला सभापति नागेन्द्र कुमार रायले जानकारी दिनुभयाे । भोलिसम्ममा नयाँ निर्वाचन अधिकृत सर्लाही आएर मतदान अधिकृतहरुलाई आवश्यक प्रशिक्षण र कागजात दिनासाथ अधिवेशन प्रक्रिया अघि बढ्ने छ ।
जिल्ला सभापति नागेन्द्र कुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय समूहबीचको विवादले अधिवेशन गराउने वातावरण नभएको भन्दै दुई पटक खटाइएका निर्वाचन अधिकृतले राजीनामा दिएर फर्किएका थिए । दोस्रो पटक खटाइएका निर्वाचन अधिकृत दीवाकरराज पाण्डेमाथि सदरमुकाम मलंगवामा कांग्रेसको एक समूहले हातपात नै गरेको थियो ।
प्रतिक्रिया