Pura Samachar

जर्मनीको सहयोगमा ४२ लाख डोज खोप आउँदै

प्रकाशित: November 24, 2021

जर्मनीको सहयोगमा ४२ लाख डोज खोप आउँदै

कोभ्याक्स अनुदानमा जर्मन सरकारले डिसेम्बरको पहिलो सातादेखि ४२ लाख डोज खोप दिने बताएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका जर्मनी राजदूत डा. थोमस प्रिन्जले यस्तो जानकारी दिएका हुन्। ‘दुई साताभित्र सो खोप नेपाललाई दिन सक्ने गरी तयारी भइरहेको छ,’ डा. प्रिन्जले भने।

राजदूतका अनुसार २२ लाख जोनसोन एन्ड जोनसन र २० लाख डोज मोर्डनाको खोप दिने सम्झौता भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सचिव डा. रोशनकुमार पोखरेलले बताए।

मंगलबार नै राजदूतावासले नेपालका लागि कोभिड–१९ विरुद्ध युरोपियन युनियनको ऐक्यबद्धता स्वरूप स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। जसमा १७ थान भेन्टिलेटर, २ करोड २६ लाख सर्जिकल मास्क र १० लाख केएन ९५ मास्क प्रदान गरेको हो।

राजदूत प्रिन्जले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई सो सामग्री हस्तान्तरण गरेका हुन्। आगामी दिनमा नेपालको स्वास्थ्य लक्ष्य पूरा गर्ने अभियानमा जर्मन सरकारले निरन्तर सहयोग गर्ने राजदूत डा. प्रिन्जले प्रतिबद्धता जनाए।

स्वास्थ्यमन्त्री खतिवडाले राजदूतावासको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै सहयोगस्वरूप प्राप्त स्वास्थ्य सामाग्री नेपाली जनताको हितमा प्रयोग गर्ने प्रतिबद्धता जनाए। सोही क्रममा राजदूत प्रिन्जले अर्को सातादेखि भूकम्पले ध्वस्त बनाएका अस्पताल निर्माण पनि सुरु हुने जानकारी दिए।

यसअघि युरोपियन युनियनमार्फत नेपाललाई १ सय २९ वटा भेन्टिलेटर, २९ हजार अक्सिमिटर, ४ हनार गम बुट, २ लाख ३८ हजार ८० सर्जिकल मास्क, २५ हजार थान सेनिटाइजर, २ लाख ६८ हजार थान के एन ९५ मास्क प्रदान गरेको र ५ वटा आइसोलेसन सेन्टर निर्माण गरिसकेको संघले राजदूतावासले जनाए

प्रतिक्रिया