Pura Samachar

कोइराला परिवारबाट म सभापतिको साझा उम्मेदवार बन्नसक्छुः सुजाता

प्रकाशित: November 24, 2021

कोइराला परिवारबाट म सभापतिको साझा उम्मेदवार बन्नसक्छुः सुजाता

काठमाडौं, ८ मंसिर । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आफू सभापतिको उम्मेदवारीबाट पछि नहट्ने बताएकी छिन् । उनले आफू काँग्रेसको इतिहासमा पहिलो महिला सभापति बन्ने गरी तयारीमा रहेको बताइन् ।

‘म सभापतिको उम्मेदवारीबाट पछि हट्दिनँ, धेरै अगाडि बढिसकेकी छु,’ पूर्व उपप्रधानमन्त्री समेत रहेकी कोइरालाले रिपोर्टर्स नेपालसँग भनिन्,‘नेपाली काँग्रेसको इतिहासमा पहिलो महिला सभापति बन्ने गरी तयारीमा छु ।’

आफ्नो समूहमा साझा उम्मेदवार बन्नसक्नेमा आफू नै भएको दाबी गरिन् । समूहबाट अरु कोही साझा उम्मेदवार बनेमा त्याग गर्न तयार रहेको पनि बताइन् । सुजाताले भनिन्,‘काँग्रेसलाई बचाउने बेला आएको छ । त्यसका लागि म जस्तोसुकै त्याग गर्न तयार छु । तर, काँग्रेसलाई बचाउन सक्ने र बलियो बनाउन सक्ने खूबी ममा छ ।’

कोइरालाले नेतृत्वको दाबी गर्ने मुख्य नेताहरु पदाधिकारीका रुपमा टेष्टेड भइसकेको र पार्टीलाई बलियो बनाउन नसकेको बताइन् । आफूले काँग्रेसलाई सही तरिकाले हाँकेर बलियो बनाउने दृष्टिकोण बनाएको बताइन् ।

कोइराला परिवारभित्र पनि आफू साझा उम्मेदवार बन्नसक्ने बताइन् । उनले भनिन्,‘कोइराला परिवारबाट म साझा उम्मेदवार बन्नसक्छु, त्यसपछि हाम्रो समूहबाट पनि दबाब आइरहेको छ ।’

कोइराला परिवार एक भएमा देशभरका नेता कार्यकर्तामा लहर नै आउने ठोकुवा गरिन् । त्यस्तो एकता र लहर ल्याउने क्षमता आफूले प्रदर्शन गर्ने उनको भनाई थियो ।

प्रतिक्रिया