Pura Samachar

सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानून कार्यान्वयन गराउन पहल गर्छु ः मन्त्री खतिवडा

प्रकाशित: November 24, 2021

सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानून कार्यान्वयन गराउन पहल गर्छु ः  मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सूर्तीजन्य पदार्थको सेवनको रोकथाम र नियन्त्रणमा पहल गरिने जानकारीदिनुभएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, एक्सन नेपाल, एपीक्याट र द युनियनको सयुक्त रुपमा आज यहाँ आयोजित ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन’ सम्बन्धी बहुपक्षित पैरवी बैठकमा उहाँले जुनसुकै उपाय अपनाएर भए पनि सूर्तिजन्य पदार्थको सेवनमा रोकथाम र नियन्त्रण गर्न पहल गरिने बताउनुभयो ।

सूर्तिजन्य पदार्थको सेवनबाट बार्षिक रुपमा ठूलो संख्यामा मानिसको मृत्यु भएको जान्दा जान्दै पनि मानिस यसको कुलतबाट बाहिर निस्कन नसकेको जनाउँदै उहाँले अब चिकित्सक तथा स्वास्थ्यकर्मीले कुनै डर सिर्जना गरेर भएपनि यसको सेवनलाई निरुत्साहित गर्नुपर्छ भन्नुभयोे । उहाँले सूर्तीजन्य पदार्थको नियन्त्रणका लागि बनेका ऐनलाई प्रभावकारी कार्यन्वयन गर्ने समेत बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले नसर्ने रोगको प्रकोप भयावह रुपमा बढदै गएको जनाउँदै यसलाई रोकथाम गर्नका लागि पनि सुर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो । उहाँले अन्तरक्रियाबाट निस्कने निष्कर्षलाई हेरेर आवश्यक परेमा मन्त्रालयबाट थप कदम चाल्ने समेत प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सूर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा सूर्तीजन्य बनेका ऐन, कानूनलाई कडाइका साथ लागू गर्नुपर्ने जानकारी दिनुभयो । उहाँले मासिक रुपमा कम्तीमा दुई अर्व रुपैयाँ नेपालीले चुरोटको धुवामा उडाउने गरेको जनाउँदै त्यो भन्दा बढी मानवीय क्षति पु¥याउने बताउनु भयो ।

परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले सूर्तीजन्य सेवनबाट बर्षेनी हजारौँ मानिसको अकालमा नै मृत्यु हुने गरेको बताउनुभयो । यसको रोकथामका लागि नीतिमा थप संसोधन आवश्यक पर्न सक्ने जनाउँदै त्यसअघि अनुसन्धानको पाटोलाई अघि बढाउनुपर्छ भन्नुभयो ।

सो अवसरमा उहाँले परिषदले सूर्तिजन्य पदार्थ र नसर्ने रोगको नियन्त्रणका लागि गरेका अध्ययन् अनुसन्धानका बारेमा जानकारी दिनुभयो । कार्यक्रममा शहीद गङ्गालाल हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले सूर्तीजन्य पदार्थको सेवनबाट धेरैनै मानिसलाई हृदयघात हुने गरेको बताउनुभयो । उहाँका अनुसार विगत १० वर्षमा हृदयघात हुने सङ्ख्या ४६ प्रतिशतले बढेको उल्लेख गर्दै हृदयघात हुने सबैभन्दा बढी सूर्तीजन्य पदार्थको सेवन गरेको युवा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी हृदयघाट चुरोट सेवनबाट हुने गरेको छ ।

प्रतिक्रिया