Pura Samachar

मंसिर २१ मा सभापतिका लागि उम्मेदवारी दिन्छु: विमलेन्द्र निधि

प्रकाशित: November 25, 2021

मंसिर २१ मा सभापतिका लागि उम्मेदवारी दिन्छु: विमलेन्द्र निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा उठ्ने भएका छन्।

यही मंसिर २१ गते सभापतिका लागि मनोनयन दर्ता गर्ने निधिले बताए।

‘मंसिर २१ मा सभापतिका लागि उम्मेदवारी दिँदै मनोनयन दर्ता गर्छु,’ बानेश्वरमा आज उम्मेदवारी घोषणा तथा प्रतिवद्धता पत्र सार्वजनिक गर्दै निधिले भने, ‘१३ औं महाधिवेशनमा उठ्नुभएका नेताहरू शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला यसपालि नउठिदिए राम्रो।’

कांग्रेसले मंसिर २१ मा केन्द्रीय सदस्य र पदाधिकारीका लागि उम्मेदवारी दर्ता गर्न समय दिएको छ।

कांग्रेसले यही मंसिर २४ देखि २६ गतेसम्म १४ औं महाधिवेशन काठमाडौंमा गर्दैछ।

आफू सभापतिमा उम्मेदवारी दिने र आफूलाई सभापतिदेखि वरिष्ठ नेताहरूले समर्थन गर्दा राम्रो हुने निधिले बताए।

‘सभापति देउवा र वरिष्ठ नेता पौडेलले सभापतिमा उम्मेदवारी दिनुभएन भने हामी उहाँहरूलाई सर्वोच्च नेताका रूपमा राख्छौं। उहाँहरूले नै भनेअनुसार पार्टी चलाउँछौं,’ निधिले भने।

उनले आफूले सभापति उठ्ने र उम्मेदवारी फिर्ता नलिने पनि बताए। आफ्नो पक्षमा ७७ जिल्लाबाट नै महाधिवेशन प्रतिनिधि आउने दाबी निधिको थियो।

उनले पार्टीमा नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणका एजेन्डासमेत प्राथमिकताका साथ अगाडि सारेका छन्। सभापतिमा उठ्नेबारे आफूले पटकपटक सभापति देउवा र अन्य सभापतिका आकांक्षी नेताहरूलाई जानकारी गराइसकेको पनि निधिले बताए।

यस्तो छ निधिको प्रतिवद्धता पत्र:

ध्येय
उपरोक्त परिकल्पनालाई साकार गराउन निम्न ध्येयहरु समयवद्ध प्रक्रिया अपनाई चार बर्षको समयावधिभित्र पूरा गर्ने प्रतिबद्धता गर्दछु।

– नेपाली कांग्रेसको केन्द्रीय सचिवालय र पुस्तकालयलाई व्यवस्थित गरी आन्तरिक कर्मचारी प्रशासनलाई समयोचित सुधार गर्ने।
– प्रदेश, जिल्ला, क्षेत्र र पालिकाका पार्टी सचिवालय सञ्चालनलाई चुस्त, दुरुस्त गराउने र नियमित सम्पर्क र सम्वाद तथा सूचना आदानप्रदान गर्ने वातावरण निर्माण गर्ने।

– लोकतान्त्रिक आन्दोलनका शहीद र नेपाली कांग्रेसमा रहेर योगदान गर्नुभएका अग्रजहरूको सम्मान र स्वदेशप्रेमको भावना वृद्धि गर्न विद्यालयहरुमा लोकतन्त्र ज्ञान परीक्षा र नेपाल ज्ञान परीक्षा सञ्चालन गर्ने र विभिन्न खेलकूद, साहित्यिक कार्यक्रम, विद्यालय, स्वास्थ्यशाला, बाटो आदिको नामाकरण गरी स्मृति सम्मानलाई चिरस्थायी राख्ने।

– समकालीन साथीहरूको संरक्षण र नयाँ पुस्ताको नेतृत्व विकास तथा प्रवर्द्धनका साथ कांग्रेसलाई गतिशील र व्यवस्थित पार्टीको रूपमा विकसित गर्ने।

– लोकतान्त्रिक आन्दोलनका शहीद परिवार, घाइते र विस्थापित हुनुभएका नेपाली कांग्रेसका साथीहरूलाई उचित सम्मान र सहयोग प्रदान गर्ने।

– नेपाली कांग्रेसका सदस्य साथीहरूलाई उद्यमशील, कर्मशील, आत्मनिर्भर र स्वरोजगार बनाउन चरणबद्ध कार्ययोजनाहरु बनाउने।

– विदेशमा पसिना चुहाउन विवश युवाहरुलाई स्वदेशमा नै रोजगार सृजना गर्न समयबद्ध योजनाहरु बनाउने।

– पार्टीका सदस्यहरूमा पठन संस्कृतिको विकास गर्न वडा तहदेखि जिल्ला तहमा समेत कांग्रेस पुस्तकालय स्थापना गरी पार्टी साहित्य अध्ययनलाई सम्पूर्ण तहमा अनिवार्य गराउने।

– नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई संस्थागत विकास गरी अनुसन्धानलाई महत्व दिंदै सूचना प्रविधिको प्रयोग समेतलाई समावेश गरी वडा तहसम्म प्रशिक्षण गर्ने र अनुशासित, इमानदार सदस्यहरुलाई प्रोत्साहित गर्ने।

– नेपाली कांग्रेसको सभापतिका रूपमा पार्टीको आर्थिक पारदर्शिता र सुशासनलाई पूर्ण पालना गर्ने र गराउने।

– पार्टीभित्र विकसित गुट–उपगुटको अवस्थालाई उचित व्यवस्थापन गरी सबै साथीहरूलाई ऐक्यबद्ध रूपमा पार्टीको लक्ष्यउन्मुख गराउने।

– विशेषगरी युवाहरूलाई आत्मसम्मानका साथ पार्टीमा सक्रिय हुने र रहने वातावरण विकास गर्ने।

– सम्पूर्ण तहका साथीहरूको र सबै तहका कार्यक्रमहरूको अभिलेखीकरण र मूल्याङ्कन गरी नेपाली कांग्रेसभित्र अन्याय हुन नदिन र विभेदको अन्त्य गरी बन्धुत्वपूर्ण संस्कृति विकास गर्ने।

– राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षता, अहिंसा र शान्तिका आधारभूत मान्यता सहित बनेको संविधान र राजनीतिक प्रणालीलाई जनताको हित एवं चाहना अनुसार सफल कार्यान्वयन गर्न र आम रुपमा सुशासनको विशेष अनुभूति गराउन पार्टीलाई परिचालित गर्ने।

– संविधान संशोधनको विषय पार्टीको आधिकारिक निर्णय अनुसार कार्यान्वयन गराउने।

उद्देश्य
उपरोक्त ध्येय प्राप्त गर्न चार बर्षभित्र प्राप्त गर्ने संरचनागत सुधारका उद्देश्य:

– पार्टीभित्र नेतृत्व विकास, रुपान्तरण, पुस्ताहस्तान्तरण र पुस्तान्तरणलाई सहज बनाउन पार्टीका कुनै पनि एउटै तहमा वा पदमा दुई पटक भन्दा बढी निर्वाचित वा मनोनित नहुने व्यबस्था गर्न पार्टीको विधान संशोधन गर्ने।

– नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै नेपाली समाजलाई समतामूलक लोकतान्त्रिक समाजमा रुपान्तरण गर्ने घोषित उद्देश्यको कार्यान्वयनका लागि वडा, पालिका, प्रदेश र केन्द्रीय स्तरमा नै समाज रुपान्तरण सम्बन्धी उपयुक्त कार्यक्रमहरु तर्जुमा गरी संचालन गर्ने, गराउने।

– पार्टीका जिल्ला सभापतिहरुको १२–१३ जेठ, २०७७ मा नुवाकोटको ककनीमा सम्पन्न भेलाले पार्टी सुदृढीकरणका लागि सिफारिस गरेका संपूर्ण सुझावहरुलाई विधानमा समेत सुधार गरी पार्टीमा लागू गर्ने।

– पार्टीका वडा, पालिका तथा प्रदेश स्तरमा उदाहरणीय र लोकप्रिय कार्यक्रम संचालन गरेका पार्टीका निर्वाचित जनप्रतिनिधिको पार्टीबाट यथोचित मूल्यांकन गर्ने संस्थागत परिपाटी सुरु गर्ने।

– पार्टीका सवै तहका निर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गरी योजना तर्जुमा तथा कार्यान्वयन, सुशासन, सहकारिता, समन्वय तथा पार्टीका विविध बिषयहरुबारे नियमित रुपमा प्रशिक्षण शिविर संचालन गर्ने र सहकारी अभियानलाई तीव्र गराउँदै पार्टीका सदस्यहरुलाई अभियानमा उत्प्रेरित गर्ने।

– पार्टीले के कस्ता नीति तथा कार्यक्रमहरु केन्द्रीय, प्रादेशिक तथा स्थानीय स्तरमा संचालन गर्दा उपयुक्त हुन्छ सोको निर्धारण, कार्यान्वयन, अनुगमन र मूल्यांकनको कार्य नियमित गर्ने केन्द्रीय संयन्त्रको व्यवस्था गर्ने।

– देशको भूराजनीतिक यथार्थता तथा आवश्यकतालाई मध्यनजर गर्दै पार्टीले छिमेकी मित्रराष्ट्रहरु भारत र चीनसँगको सम्बन्धलाई थप मजवुत बनाउने र नेपालको विकास तथा लोकतान्त्रिक प्रक्रियामा सहयोगी अन्य मित्र मित्रराष्ट्रहरुसँगको सम्बन्ध सुमधुर गराउने।

– संविधानमा उल्लेख भएका तर कार्यान्वयन हुन नसकेका नेपाल प्रहरी र निजामती सेवासम्बन्धी प्रदेशको अधिकार स्थापित गर्न तथा भाषा आयोगले सिफारिस गरे अनुसार सम्बन्धित प्रदेशहरूमा सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गराउने।

– पार्टीले सोसलिष्ट इन्टरनेशनलसहित समान विचारधारा र नेपालको हित चाहने विभिन्न देशका राजनीतिक दलहरुसँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने।

अन्य सुधारहरु
– पार्टीको केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय निकायसम्म जनताका पीरमर्का सुनी, बुझी यथाशीघ्र सम्बन्धित निकायमा पुर्याउन जय नेपाल गुनासो सेवा प्रारम्भ गर्ने।

– पार्टीका पुराना नेता तथा कार्यकर्ताहरुलाई आ–आफ्ना गाउँठाउँमा उनीहरुकै रुची र सहभागितामा उपयुक्त कार्यक्रमहरु संचालन गर्ने। यसका लागि पार्टीका स्थानीय, जिल्ला र प्रदेश इकाईहरुलाई परिचालन गर्ने।

– वायुप्रदूषण घटाउन, पर्यावरणको संरक्षण गर्न, आफ्नो परिवार र समाजलाई शिक्षा, स्वास्थ्य र सरसफाईमा उत्प्रेरित गर्न पार्टीका सदस्यमार्फत सक्रिय सामाजिक अभियान चलाउने र जलवायु सम्बन्धी अन्तराष्ट्रिय महासन्धीलाई कार्यान्वयन गर्न सभापतिको हैसियतले मेरो यसमा पूर्ण सहयोग र समर्थन रहने छ।

– आजको संसारमा सूचना र संचारको महत्वपूर्ण योगदान रहेको छ। म यसवेला तमाम संचारकर्मी मित्रहरुले मलाई दिनु भएको स्नेह र सहयोगका लागि कृतज्ञता प्रकट गर्दछु । नेपाली कांग्रेस पार्टीका तर्फबाट संचार क्षेत्रको विकास र संचारकर्मीको वृत्तिविकासमा विशेष पहल गर्नेछु।

– समग्रमा नेपाली कांग्रेसमा स्वभाव, आचरण र व्यवहारमा सुधार गरी जनतासँग कांग्रेस र कांग्रेससँग जनता व्यावहारिक रूपमा सिद्ध गर्ने।

– रूख चिन्हसँग मतदातालाई र चारतारे झण्डासँग जनतालाई जोड्ने।

प्रतिक्रिया