
काठमाडौं । हाल नेपालको मौसममा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली, अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको मौसमविद्ले बताएका छन् ।
नेपालमा एकसाथ तीन वटा मौसम प्रणालीको प्रभाव कायम रहेकाले देशका विभिन्न स्थानमा मौसम बदली, वर्षा, हिमपात तथा चिसो बढ्ने क्रम जारी रहेको मौसमविद्ले बताएका छन्।
यी प्रणालीका कारण बुधबार साँझबाट सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम , कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागहरुका धेरै स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना छ।
काठमाडौं उपत्यकामा यो प्रणालीको असर आज बिहीबारबाट देखिएको छ।
पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा पनि हुन सक्ने महाशाखाका मौसमविद् सजिना शाक्यले बताउनुभयो ।
उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममा समेत गिरावट आई चिसो बढ्ने महाशाखाले जनाएको छ।
आगामी २४ घन्टामा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू(भागको थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात सम्भावना रहेको उहाँले बताउनुभयो । देशभर चिसो वढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाईरयातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आउँदो शुक्रबारबाट क्रमशः यो प्रणाली सुदूरपश्चिम प्रदेशका क्षेत्रबाट मौसममा बिस्तारै कमजोर हुँदै जानेछ।
महाशाखाका अनुसार आइतबार साँझबाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने पनि सम्भावना देखिएको छ।
प्रतिक्रिया