
काठमाडाैं । सत्तारुढ नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र)का सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग लगाउने तयारी भईरहेको बताउनुभएको छ।
नेपाली काँग्रेसका राष्ट्रियसभा सांसद अधिकारीले महाअभियोग लगाएर पदच्यूत गर्नु संविधानसम्मत हुने भएकाले प्रधानन्यायाधीश राणाविरुद्ध संसदमा महाअभियोग लगाउन उपयुक्त हुने तर्क समेत गर्नुभयो ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले अदालतका कुनै पनि न्यायाधीश कानुनभन्दा माथि छैन भन्ने पुष्टि गर्न पनि प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाउन ढिलाई गर्न नहुने बताउनुभयो ।
सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का सांसद बिडारीले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनका लागि यही मंसीर २८ गते संघीय संसद बैठक आह्वान गरिएको बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबरालाई भ्रष्टको संज्ञा दिँदै छानवीनका लागि ११ सदस्यीय संसदीय छानवीन समिति गठन हुने जानकारी समेत दिनुभयो ।
सांसद बिडारीले संसदले महाअभियोग लगाएपछि मात्रै प्रधानन्यायाधीश जबराको बर्हिगमन हुने पनि बताउनुभयो ।
प्रतिक्रिया