Pura Samachar

ओमिक्रोनबाट पहिले संक्रमित भएकालाई बढी खतरा

प्रकाशित: December 4, 2021
पूरा समाचार

ओमिक्रोनबाट पहिले संक्रमित भएकालाई बढी खतरा

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट अहिले फेरि सारा विश्व नै आतंकित बनेको छ । अहिलेसम्म नयाँ भेरियन्ट दुई दर्जन बढी देशहरुमा फैलिसकेको छ । छिमेकी देश भारतमा समेत नयाँ भेरियन्टका संक्रमितहरु भेटिएका छन् ।

यसैबीच वैज्ञानिकहरुको पछिल्लो अनुसन्धानबाट के पत्ता लागेको छ भने यसअघि कोरोनाबाट संक्रमित भैसकेकाहरुलाई नयाँ भेरियन्ट ओमिक्रोनले छिटो आक्रमण गर्नसक्छ । पहिलोपटक नयाँ भेरियन्ट देखिएको दक्षिण अफ्रिकाका वैज्ञानिकहरुका अनुसार पहिले कोरोना भाइरसबाट संक्रमित भैसकेका व्यक्तिहरुमा ओमिक्रोनको संक्रमणको खतरा बढी रहने देखिएको छ । त्यसैले पहिले संक्रमित भैसकेकाहरु अझ बढी सतर्क रहनुपर्ने उनीहरुको चेतावनी छ । अहिले दक्षिण अफ्रिकाका वैज्ञानिकहरुको एउटा टोली यसबारेमा गहिरो अध्ययनमा जुटेका छन् ।

अध्ययनमा उनीहरुले सामान्य भन्दा पहिले नै संक्रमित भैसकेकाहरु अझ बढी संक्रमणको खतरामा रहेको निष्कर्ष निकालेका हुन् । अध्ययनको निष्कर्ष यसै साताको अन्त्यमा सार्वजनिक गरिएको छ । तर यो अध्ययनको प्रारम्भिक निष्कर्ष मात्र भएको र यसबारेमा थप समीक्षा हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा पहिले संक्रमित भएकालाई दोहोर्याएर संक्रमण हुनसक्ने खतरा कतिसम्म रहेको छ भन्नेबारे भने केही खुलाएको छैन । यस्तै ओमिक्रोनबाट संक्रमितहरु गम्भीर रुपमा बिरामी भए नभए भन्नेबारे पनि प्रतिवेदनमा उल्लेख छैन ।

प्रतिक्रिया