
काठमाडौं । राप्रपाको आइतवार सम्पन्न मतदानबाट केन्द्रीय सदस्यमा निर्वाचित अभिषेक थापाले राजीनामाको घोषणा गरेका छन् ।
निवर्तमान अध्यक्ष कमल थापाका भतिजा थापाले राप्रपा केन्द्रीय सदस्यमा निर्वाचित भएलगत्तै राजीनामा दिने बताएका हुन् । महाधिवेशनमा आफूहरूमाथि षड्यन्त्र भएकाले नैतिकताका आधारमा बस्न नमिल्ने जिकिर गर्दै उनले सदस्यबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
‘पार्टी र राजतन्त्रका लागि हाम्रो परिवारले धेरै योगदान गर्यो । तर, जसको लागि योगदान गरियो, उसैले नै षड्यन्त्रपूर्वक पराजय गराउन भूमिका खेल्यो । अब पार्टी केन्द्रीय कमिटीमा बस्नु नैतिकताले दिएन । सहकर्मीसँग सल्लाह गरेर केन्द्रीय सदस्यबाट राजीनामा दिने तयारीमा छु’, उनले बताए ।
अध्यक्षमा काका कमल थापा पराजित भएपछि उनले सदस्यबाट राजीनामा दिन लागेका हुन् । अभिषेकसँगै निर्वाचित उनका पिता गणेश थापा र कमलका छोरी प्रतिष्ठाले भने राजीनामा दिने नदिनेबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन् ।
निर्वाचनको मत परिणामा सार्वजनिक भए लगत्तै कमल थापा समूहले समीक्षा वैठक बसि आफूहरुको पराजयमा पूर्वराजा ज्ञानेन्द्रको हात रहेको निष्कर्ष निकाल्दै अब उपरान्त राजावादी एजेण्डा त्यागेर हिन्दूराष्ट्र एजेण्डा मात्र बोक्ने निर्णय गरेका थिए ।
प्रतिक्रिया