Pura Samachar

स्रोत नखुलेको साढे ६९ लाखसहित दरबारमार्गबाट बिइङ ह्युमनका म्यानेजर पक्राउ

प्रकाशित: December 5, 2021
पूरा समाचार

स्रोत नखुलेको साढे ६९ लाखसहित दरबारमार्गबाट बिइङ ह्युमनका म्यानेजर पक्राउ

काठमाडौंको दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर १ दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलबाट एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

प्रहरीले त्यस पसलका म्यानेजर हिरोसी खनाललाई नियन्त्रणमा लिएको मैनालीले बताए।

उनका अनुसार दरबारमार्ग क्षेत्रमा स्रोत नखुलेको रकम लुकाएर राखेको भन्ने सूचना प्रहरीले पाएको थियो। सो सूचनाको आधारमा प्रहरीको टोली गत शुक्रबार खटिएको थियो।

टोली बिइङ ह्युमनको कपडा पसलमा पुगेर चेकजाँच गर्दा त्यहाँ ६९ लाख ५० हजार नगद फेला पारेको थियो। म्यानेजर हिरोसी खनालले स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

उनीमाथि थप अनुसन्धान तथा कारवाहीको लागी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाएको छ।

उनीबाट एक हजारका दरले १०० वटा भएको ४९ लाख रुपैयाँ, ५००का दरको १०० वटा भएको २० लाख ५० हजार रुपैयाँ र बिइङ ह्युमनको निलो रंगको झोला बरामद गरेको छ।

प्रतिक्रिया