Pura Samachar

‘बूस्टर डोज’ : मन्त्रालयमा छलफल हुनै बाँकी !

प्रकाशित: December 6, 2021
पूरा समाचार

‘बूस्टर डोज’ : मन्त्रालयमा छलफल हुनै बाँकी !

काठमाडौं– कोरोनाको ओमिक्रोन भेरियन्टले विश्वव्यापी चिन्ता बढाएपछि यतिबेलो सबैको ध्यान कोरोनाविरुद्धको खोपमा केन्द्रित भएको छ ।
नेपालमा पनि पछिल्लो पटक खोपप्रति आम सर्वसाधारणको जागरुकता बढेको छ ।

अहिले दुई डोज खोप लगाइसकेकाहरुले बूस्टर डोज लगाउनु पर्ने माग बढ्न थालेको छ । यसैबीच, विज्ञहरुले समेत कोरोना भाइरसविरुद्ध विकसित भएका खोपको पूर्णमात्रा लगाएकालाई बुष्टर डोज दिन सुझाव दिएका छन् ।

कतिपय देशले आफ्ना नागरिकलाई बुष्टर डोज दिन थालिसकेका छन् ।

बेलायत र अमेरिकाले आफ्ना नागरिकलाई बुष्टर डोज दिन थालेका छन् ।

कोरोनाविरुद्ध विकसित भएका खोपको पूर्ण मात्रा लगाइसकेका व्यक्तिले बुष्टर डोज लगाउदा उपयुक्त हुने विज्ञको भनाइ छ ।

नेपालमा पनि बुष्टर डोजबारे चर्चा हुन थालेको छ ।

कोरोनाविरुद्धको खोप लगाएको छ महिना कटेपछि एन्टिबडीको मात्रा विस्तारै घट्दै जाने भएकाले बुष्टर डोज लगाउनु पर्ने बहस प्रारम्भ भएको हो ।

मन्त्रालयसँग कति छन् खोप ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकमा अब ८३ लाख खोप मात्र बाँकी रहेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनु भएको छ ।

अधिकारीका अनुसार विभिन्न देशबाट कोभ्याक्स सुविधा, अनुदान र खरिदमार्फत दुई करोड ७३ लाख ५६ हजार ५३० डोज खोप विभिन्न कम्पनीबाट ल्याइएको छ ।

नेपाल आएको मध्ये १ करोड ९० लाख डोज खोप प्रयोगमा आइसकेको उहाँले जानकारी दिनुभयो । अहिले मन्त्रालयमा बुष्टर डोजको बारेमा कुनै छलफल पनि नभएको उहाँको भनाइ छ ।

‘अहिले मन्त्रालयमा बुष्टर डोजको विषयमा केही छलफल नै भएको छैन’, उहाँले भन्नुभयो– ‘अहिले हाम्रो प्राथमिकता पूर्णमात्रा खोपमा नै छ ।’

विज्ञको सुझावका आधारमा मात्र बुष्टर डोज खोपको बारेमा मन्त्रालयले धारणा बनाउने उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार कोरोना भाइरस विरुद्धको साढे तीन करोड खोप नेपाल आउने तयारीमा छ । पुस महिनाभित्र विभिन्न देशबाट भेरोसेल, फाइजर, मोडेर्ना कम्पनीका खोप नेपाल आइ पुग्नेछ ।

यसेबीच, जनस्वास्थ्यविद्ले पहिले लक्षित समूहलाई खोप प्रदान गरेर मात्र बुष्टर डोज दिनुपर्ने बताएका छन् ।

खोप विज्ञ डा.श्यामराज उप्रेती अधिकांश नागरिकले पहिलो मात्रा खोप नै नपाएको अवस्थामा बुष्टर डोज खोपको कुरा गर्नु न्यायोचित नहुने बताउनु हुन्छ ।

‘लक्षित जनसंख्यामध्ये धेरैले पहिलो मात्रा नै लगाएका छैनन् । यस्तो अवस्थामा पूर्ण मात्रा लगाएकालाई बुष्टर डोज दिँदा खोप नै नलगाउनेलाई अन्याय हुन्छ । त्यसो गर्नु हुँदैन,’ उहाँले भन्नुभयो ।

जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित खोपलाई सबै नागरिकसामु पुर्याएर मात्र बुष्टर डोजको बारेमा सोच्नु पर्ने बताउनुहुन्छ । लक्षित जनसङ्ख्याको ७५ प्रतिशतले खोप नलगाएसम्म सुरक्षित हुन नसक्ने भएकाले अहिले बुष्टर डोज भन्दा खोप सुनिश्चिततामै ध्यान दिनु जरुरी रहेको उहाँको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनले पनि लक्षित जनसङ्ख्यामा खोप पुगेपछि मात्र बुष्टर डोज लगाउन सकिने बताउनुभयो ।

जनस्यास्थ्यविद् डा.शरदकुमार वन्तले समेत पहिले खोप नलगाएकालाई समेटेर मात्र बुष्टर डोजमा जान सकिने बताउनुभएको छ । खोपलाई कोभिड नियन्त्रण गर्नसक्ने अस्त्रको रुपमा नलिगेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा पनि ध्यान दिनु जरुरी रहेको उहाँको भनाइ रहेको समाचार गोरखापत्रमा प्रकाशित छ ।

प्रतिक्रिया