Pura Samachar

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक मंसिर २७ गते मतदान

प्रकाशित: December 8, 2021
पूरा समाचार

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक मंसिर २७ गते मतदान

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । जसअनुसार नेतृत्व चयनका लागि मंसिर २७ गते मतदान हुनेछ । काँग्रेस निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन मंसिर २४ गते बिहान १० बजे हुनेछ भने उम्मेदवारको मनोनयन दर्ता मंसिर २५ गते बिहान १० देखि ५ बजेसम्म हुनेछ ।

यस्तै दावी विरोधको समय २५ गते बेलुका ७ देखि ९ बजेसम्म राखिएको छ भने उम्मेदवारको पहिलो नामावली प्रकाशन सोही राति ९ देखि १२ बजेसम्म हुनेछ । यस्तै मनोनयनपत्र फिर्ताका लागि मंसिर २६ गते बिहान ११ बजेसम्मको समय दिइएको समितिले जनाएको छ ।

त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर मंसिर २७ गते बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । निर्वाचन सम्पन्न भएपछि सभापति पदको मतगणना लगत्तै सुरु गरिनेछ भने निर्वाचनसम्बन्धी सबै कार्यक्रम राष्ट्रियसभा गृहमा हुनेछ ।

यस्तै सभापतिको लागि दोस्रो चरणको निर्वाचन गर्नुपरेमा पनि लगत्तै गरिनेछ । सभापतिको हकमा राष्ट्रिय सभागृहमै र अन्य पदाधिकारी र सदस्यहरुको मतगणना पार्टी कार्यालयमा गर्ने निर्वाचन समितिले जनाएको छ । काँग्रेसको सभापतिमा हालसम्म शेरबहादुर देउवा र विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेका छन् भने इतर पक्षबाट साझा उम्मेदवार तय गर्न छलफल जारी छ।

प्रतिक्रिया