Pura Samachar

नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित

प्रकाशित: July 28, 2020

नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । सचिवालयको बैठकले दिएको निर्देशनअनुसार प्रस्ताव तय गर्न बाँकी रहेको कारण देखाउँदै नेकपाले स्थायी कमिटी बैठक स्थगित गरेको हो ।

“पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले, पार्टी स्थायी कमिटीको आज ११ बजे हुने भनिएको बैठक स्थगित गरिएको छ,” प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

यस्तै नेकपाका कार्यालय सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले जारी गरेको प्रेस विज्ञप्तिमा पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बीचमा परामर्श भएपछि बैठक बस्ने उल्लेख छ ।

यसअघि ओली इतरसमूहले आज (मंगलबार) का लागि तय गरिएको स्थायी कमिटी बैठक नरोक्ने र बहुमतका आधारमा निर्णय गरेर अगाडि बढ्ने भनिएको थियो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा सोमबार बिहान बसेको बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले स्थायी कमिटीको बैठक नरोक्ने र बहुमतकै आधारमा निर्णय गरेर जाने निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया