Pura Samachar

अध्यक्ष ओलीले बैठक स्थगित गरेपछि प्रवक्ताले भने – हामी बैठक कक्षमै छौं, एकतर्फी स्थगित मान्दैनौं

प्रकाशित: July 28, 2020

अध्यक्ष ओलीले बैठक स्थगित गरेपछि प्रवक्ताले भने – हामी बैठक कक्षमै छौं, एकतर्फी स्थगित मान्दैनौं

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको घोषणा गरे ।

तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका नेताहरु भने बैठकमा सहभागिताका लागि बालुवाटार पुगेका छन् ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “हामी बैठक कक्षमै छौं । एकतर्फी बैठक स्थगितको निर्णय मान्दैनौं ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, लिलामणि पोखरेल बालुवाटार बैठक स्थलमा छन् भने अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, मातृका यादव बालुवाटार पुग्‍ने क्रममा छन्।

“हामी तीन जना बालुवाटारको बैठक कक्षमै छौं, दुई जना अध्यक्षको सहमतिमा मात्र बैठक स्थगित हुनसक्छ, एकजना अध्यक्षले मात्र रोक्न खोजेर रोकिँदैन,” प्रवक्ता श्रेष्ठले भने, “अध्यक्ष प्रचण्डले बैठक रोकिँदैन भन्नुभएको छ ।”

वरिष्ठ नेता नेपालले पनि आफु बालुवाटार गइरहेको बताउँदै नेताहरूलाई बालुवाटार जान निर्देशन दिएका छन् । “एक जना अध्यक्षले मात्रै रोक्न खोजेर बैठक रोकिँदैन, अध्यक्ष प्रचण्डजीसँग सल्लाह गरेर हामी बैठक चलाउँछौं,” नेपाललाई उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने ।

ओली पक्षका नेताहरुलाई मात्रै बैठक स्थगितको सूचना पठाइएको बताइएको छ । प्रचण्ड-नेपाल पक्षका नेताहरुले भने बैठक स्थगित भएको सूचना सञ्‍चारमाध्यमबाट जानकारी भएको बताएका छन् ।

प्रतिक्रिया