Pura Samachar

मनाङ र आर्मीलाई सफलता / पहिलो खेल सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटी तथा दोस्रो खेल हिमालयन शेर्पा र साविक विजेता मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा

प्रकाशित: December 11, 2021
पूरा समाचार

मनाङ र आर्मीलाई सफलता / पहिलो खेल सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटी तथा दोस्रो खेल हिमालयन शेर्पा र साविक विजेता मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा

काठमाडौं । सर्वाधिक ८ पटकको च्याम्पियन मनाङ मस्र्याङदी र त्रिभुवन आर्मी फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको खेलमा जित निकालेका छन् ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको खेलमा मनाङले ललितपुरे टोली फ्रेन्ड्स क्लबमाथि २–० को जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको दिन आज विभागीय टोली त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबलाई पनि समान २–० गोल अन्तरले पराजित गरेको हो । जितबाट मनाङले शीर्ष स्थानमा आतिथ्यता गर्दा विभागीय टोलीले जारी प्रतियोगितामा दोस्रो जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

दिनको पहिलो खेलमा नाइजेरियन प्रशिक्षक तोपे फुजाको प्रशिक्षणमा पहिलो पटक मैदान उत्रिएको मनाङको जितका लागि आफिज ओलावाले पहिलो हाफ र दिनेश राजवंशीले दोस्रो हाफमा एक/एक गोल गरे । फुजा मंगलबार मात्र नेपाल आईपुगेका थिए । सुरुआतबाट दबाब दिएर खेल देखाएको मनाङको रणनीति ४१औं मिनेटमा पूरा भएको थियो । ४१औं मिनेटमा ओलावाले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाए । कप्तान अन्जनको क्रसमा अनमार्क रहेका ओलावाले हेडमार्फत सहज गोल गरेका थिए ।

दोस्रो हाफमा पनि मनाङले आक्रामक खेलललाई निरन्तरता दियो । कप्तान अन्जनले ५४औं मिनेटमा अग्रता दोब्बर बनाउने मौका गुमाए । वान भर्सेस वानको अवस्थामा सिक्स यार्ड बक्सभित्रबाट प्रहार गरेको बल फ्रेन्ड्सका गोलकिपर राहुलको साझै हातमा परेको थियो । ७२औं मिनेटमा ओलावाले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट प्रहार गरेको बल फ्रेन्ड्सका गोलकिपर राहुलले उत्कृष्ट बचाउ गर्दै बाहिर पठाउँदा ७३औं मिनेटमा दिनेशले गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाए । पुजन उपरकोटीको फ्रिकिकमा दिनेश हेडमार्फत अग्रता दोब्बर पारेका थिए ।

८६औं मिनेटमा फ्रेन्ड्सका नाथानिल जुड गार्सियाले गोल गरे पनि रेफ्रिले अफसाइडको इसारा गर्दा फ्रेन्ड्सले अग्रता छोट्उन असफल रह्यो । बाँकी समयमा थप गोल हुन सकेन र मनाङले सहज जित आत्मसात गर्न सक्यो ।

यससँगै मनाङ चौथो खेलमा पनि अपराजित रहने टोली भएको छ । मनाङले ४ खेलमा १० अंक जोड्दा जारी लिगमा तेस्रो जित निकाल्न सफल भएको छ । फ्रेन्ड्स ४ खेलमा २ अंक जोडेर दशौँ स्थानमा रहेको छ । चार खेलबाट फ्रेन्ड्सको दोस्रो हार हो । खेलमा मनाङका ओलावाले म्यान अफ दि म्याच चुनिएर नगद १० हजार रुपैयाँ हात पार्दा इमर्जिङ प्लेयरको अवार्ड फ्रेन्ड्सका अनिल महर्जनले हात पारे ।

खेलको सुरुआतबाट नै दबाब दिएर खेलेको विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो हाफमा निकालेको २–० को अग्रता पर्याप्त बन्यो । लगातार दोस्रो जित निकाल्ने क्रममा पहिलो हाफमा अग्रतता निकाल्दा १९औं मिनेटमा जर्ज प्रिन्सले टोलीका लागि पहिलो गोल गरे । मिडफिल्डर टंक बस्नेतको क्रसमा कार्कीले हेडमार्फत उत्कृष्ट गोल गर्दा जगजितले ३६औं मिनेटमा टोलीका लागि दोस्रो गर्दै आर्मीलाई २–० को अग्रता दिलाए ।

गौतम श्रेष्ठले उपलब्ध गराएको पासलाई जगजितले सहजै गोल गरेका थिए । जितसँगै आर्मीले ४ खेलमा ८ अंक जोडेको छ । र, आर्मी शीर्ष दुईमा उक्लिएको छ । च्यासल ४ खेलमा ४ अंक जोडेर नवौं स्थानमा रहेको छ । लिगमा शनिबार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटी तथा दोस्रो खेल हिमालयन शेर्पा र साविक विजेता मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया