Pura Samachar

संस्थापनइतरबाट साझा बन्न नसकेपछि सभापतिको दौडबाट रामचन्द्र बाहिरिने

प्रकाशित: December 11, 2021
पूरा समाचार

संस्थापनइतरबाट साझा बन्न नसकेपछि सभापतिको दौडबाट रामचन्द्र बाहिरिने

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षबाट सभापतिमा साझा उम्मेदवार बन्न नसकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी नदिने भएको छ ।

१३औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित हुनुभएका पौडेल १४औँ महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार भएर हारको बदला लिने रणनीतिमा रहनुभएको थियो ।

तर, संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार खडा गर्ने समझदारीले आकार लिन नसकेपछि पौडेल सभापतिमा लड्ने सम्भावना झिनो बन्दै गएको हो ।

संस्थापनइत्तरबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालाले सभापतिमा दाबी गरिरहनुभएको छ । सिंह अवधारणासहित आजै सभापतिमा उम्मेदवारी दर्ता गर्ने तयारीमा लाग्नुभएको छ । शेखर पनि सामाजिक सञ्जालमा ‘एक पटक, यसै पटक’ भन्दै प्रचार अभियानमा जुटिसक्नुभएको छ । अब सभापतिमा इतरबाट प्रकाशमान र शेखर सभापति प्रतिस्पर्धामा आउने देखिन्छ ।

संस्थापनइत्तरका नेताहरु शनिवार विहानबाटै छलफलमा जुटिरहेका छन् । वरिष्ठ नेता पौडेल पक्षीय केन्द्रीय सदस्यहरु पौडेलको निवास बोहोराटारमा छलफलमा जुटेका हुन् । नेताहरु मिनेन्द्र रिजाल, गगन थापा, अर्जुननरसिंह केसी, बन्द्री पाण्डे लगायतले पौडेलसँग छलफल गरिरहनुभएको छ ।

पौडेलको संयोजनमा बसिरहेको बैठकमा सभापतिका दाबेदार शेखर कोइराला र प्रकाशमान सिंह भने अनुपस्थित रहनुभएको छ ।

यसैबीच नेता कृष्णप्रसाद सिटौलाले शेरबहादुर देउवालाई साथ दिइसक्नुभएको छ । यसअघि आफू पनि सभापतिको आकांक्षी बताउँदै आउनुभएका नेता गोपालमान श्रेष्ठले पनि देउवालाई साथ दिनुहुने भएको छ ।

शुक्रबारबाट सुरु भएको कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज मनोनयन दर्ताको कार्यतालिका छ । निर्वाचन भने सोमबार हुनेछ ।

प्रतिक्रिया