काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा बहुमत र अल्पमतको खेल सुरु भएको छ । मंगलबारका लागि बोलाइएको बैठक स्थगित गरे पनि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकपक्षीय रुपमा बैठक सुरु गरेपछि नेकपामा बहुमत र अल्पमतको खेल सुरु भएको हो ।
यसअघि नेकपाका कार्यालय सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरेर स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिएका थिए । प्रेस विज्ञप्तिमा पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बीचमा परामर्श भएपछि बैठक बस्ने उल्लेख थियो ।
“पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले, पार्टी स्थायी कमिटीको आज ११ बजे हुने भनिएको बैठक स्थगित गरिएको छ,” विज्ञप्तिमा उल्लेख थियो ।
तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली समूहको अनुपस्थितिमा बालुवाटारमै बैठक सुरु गरेका छन् । यसअघि सोमबार प्रचण्ड निवास खुमलटारमा बसेको बहुमत सचिवालय सदस्यहरुको बैठकले आज (मंगलबार) का लागि तय गरिएको स्थायी कमिटी बैठक नरोक्ने र बहुमतका आधारमा निर्णय गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको थियो ।
नेकपामा बहुमत र अल्पमतको खेल सुरु भएपछि पार्टी झण्डै फुटको संघारमा पुगेको राजनीतिक विश्लेषकहरुको भनाइ छ । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले डा. केसीले बहुमतका आधारमा प्रचण्ड–नेपाल पक्षले निर्णय गरे नेकपा फुट्ने निश्चित रहेको दाबी गरे ।
उनले कम्युनिष्ट पार्टीमा अल्पमत र बहुमतको कल्पनानै गर्न नसकिने बताए । “अल्पमत र बहुमत भन्ने कुरा निर्णायक हुन्छ । कम्युनिष्ट पार्टीमा अल्पमत र बहुमतको कल्पना नै गर्न सकिँदैन,” डा. केसीले भने, “स्थायी कमिटी बैठकमा बहुमतले निर्णय गरियो भने पार्टी फुट्छ, ।”
उनले प्रधानमन्त्रीले पद त्याग्नु परे ओलीले मध्यावती घोषणा गर्नेसमेत दाबी गरे । “बहुमतको निर्णयले केपी ओलीलाई कुनै एक् पदबाट हटाउने निर्णय स्थायी कमिटीले ग¥यो भने हेर्दै जानुस् मध्यावती घोषणा हुन्छ,” डा. केसीले भने ।
तर, मंगलबार स्थगति बैठक सुरु गरेर प्रचण्ड-माधवले पार्टीमा आफू बलियो भएको सन्देश दिएका छन् ।
प्रतिक्रिया