Pura Samachar

संकटा क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै चौथो स्थानमा

प्रकाशित: December 13, 2021
पूरा समाचार

संकटा क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै चौथो स्थानमा

२७ मंसिर, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा सोमबार भएको पहिलो खेलमा संकटा क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै चौथो स्थानमा उक्लेको छ ।

संकटा क्ललले नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दा डिफेण्डर निरज बस्नेतले गोल गरे । संकटाले अपराजित यात्रालाई चार खेलसम्म कायम राख्दा पुलिसले भने लिगमा पहिलो हार बेहोरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा १८‍औं मिनेटमा निरज बस्नेतले गोल गर्दै संकटालाई अग्रता दिलाए । लक्ष्मण रुचालको कर्नरमा निरजले पेनाल्टी बक्स भित्रबाट डाईभिङ हेड मार्फत गोल गरेका थिए । जारी लिगको यो ५०औं गोल हो।

यस सिजन निरजको यो तेस्रो गोल हो। यसअघि उनले फ्रेण्ड्स क्लब र मनाङ मर्स्याङ्दी क्लब विरुद्ध गोल गरेका थिए । सर्वाधिक गोल गर्नेमा उनी सातदोबाटोका अजयी मार्टिन्स र मछिन्द्रका सुनिल बलसँग‌ै अघि छन्।

पहिलो हाफको अन्त्यतिर पुलिसले बराबरी गोल फर्काउने अवसर पाएको थियो। ४३औं मिनेटमा सुमन लामाको एक्रोब्याटिक सट संकटाका गोलकिपर राजा बाबु थापाले बचाएका थिए।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने केही मौका पाएपनि फिनिसिङ गर्न सकेनन्। दोस्रो हाफमा पुलिसका भरत शाह र संकटा उत्तम राईले गोल गर्ने अवसर गुमाए ।

दोस्रो जितपछि संकटा ४ खेलबाट ८ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ। आर्मी समान अंक भएपनि संकटा गोल अन्तरमा पछि छ । पहिलो हार बेहोरेको पुलिस भने ४ खेलबाट ५ अंकसहित सातौ स्थानमै छ ।

प्रतिक्रिया