काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप तीनजनाको मृत्यु भएको छ ।
पछिल्लो समय उपचारको क्रममा धरानमा एक र वीरगञ्जमा थप दुई जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका हुन् । यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । पर्सा जिल्लामा मात्रै सात जनाको कोरोना संक्रमणको कारण ज्यान गइसकेको छ ।
बुधबार साँझ मोरङको सुनवर्सी नगरपालिका ८ का ४५ वर्षीय पुरुषको उपचारको क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ।
उनी केही दिन अघि मात्र भारतबाट आएको खुलेको छ । पारिवारिक स्रोतका अनुसार उनी केही समयअघि भारतस्थित ससुराली गएका थिए ।
प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार बुधबार दिउँसो मात्र भर्ना गरिएका ती पुरुषको साँझ मृत्यु भएको हो।
त्यसैगरी पर्सामा बुधबार मात्रै कोरोना संक्रमणका कारण थप दुई जनाले ज्यान गुमाएका छन् । ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो ।
नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायका अनुसार ७१ वर्षका पुरुष पखाला लागेर उपचारका लागि विभिन्न अस्पताल हुँदै नेशनल मेडिकल कलेजमा पुगेका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको हो।
गण्डक कोभिड अस्पतालका डा.उदयनारायण सिंहका अुनसार ६८ बर्षीय पुरुषमा मुटु र निमोनियाकोसमेत समस्या थियो ।
प्रतिक्रिया