Pura Samachar

कांग्रेसको मतगणना अन्तिम चरणमा

प्रकाशित: December 23, 2021
पूरा समाचार

कांग्रेसको मतगणना अन्तिम चरणमा

काठमाडौं । नेपाली कांग्रेसमा समावेशी अन्तर्गत दलिततर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ । बुधबार राति सम्पन्न मतगणना अनुसार दलिततर्फ खुलामा पाँच र महिलामा चार जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

९ पदमध्ये ८ जनामा देउवापक्षका विजयी भएका छन् । पुरुषतर्फ एक जनामात्र इतरपक्षले जितेको छ ।

दलित पुरुषतर्फको केन्द्रीय सदस्यमा प्रकाश रसाइली स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली, मैकुलाल वाल्मीकि र मान बहादुर नेपाली विजयी भएका छन्। विजयीहरुमा स्नेही बाहेक सबै देउवा पक्षका हुन् ।

त्यस्तै महिलातर्फ चार जना पनि देउवा पक्षकै विजयी भएका छन् । दलित महिला तर्फ सुजाता परियार,रुपा विश्वकर्मा, लक्ष्मी परियार र शान्ति परियार विक केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

मतगणना हिजै सक्ने तयारी भएको भए पनि नेपाल बार एसोसिएसनको ‘बार डे’ परेकाले गणकहरु आउँदा नसकिएको र आज धेरै स्थानमा गनेर मतगणनाको काम सम्पन्न गर्ने निर्वाचन समितिका सदस्य जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

मंसिर २४-२७ सम्म भएको कांग्रेसको १४ औं महाधिवेशनमा १३४ पदका लागि निर्वाचन भएको थियो । बुधबारसम्म दलिततर्फसहित १०६ पदको मतपरिणाम सार्वजनिक भएको हो । निर्वाचन समितिका अनुसार अब आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया