Pura Samachar

विद्यालय पुनः सञ्‍चालनका मापदण्ड के हुन् ?

प्रकाशित: July 30, 2020

विद्यालय पुनः सञ्‍चालनका मापदण्ड के हुन् ?

काठमाडौं । सरकारले भदौ १ गतेबाट विद्यालयल भर्ना गर्न सुरु गर्ने निर्णय गरेको छ । विश्वभर महामारीका रुपमा फैलिएको नोभेल कोरोना भाइरसको संक्रमणका कारण प्रभावित भएको शैक्षिक सत्रको भर्ना कार्यक्रम भदौ १ गतेबाट सुरु हुने भएको हो ।  विद्यार्थी भर्ना कार्यक्रमसँगै शिक्षा मन्त्रालयले विद्यालय सञ्‍चालनका लागि प्रोटोकल (प्रारुप) तयार पारेको छ । केही दिनभित्रै जारी गरिने प्रोटोकललाई कोभिड-१९ का सन्दर्भमा विद्यालय पुनः सञ्‍चालन कार्य ढाँचा २०७७ नाम दिइएको छ ।

शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा विभागको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जेठ मसान्तमै पहिलो मस्यौदा तयार पारेर बुझाएको थियो । करिब १९ पेज लामो कार्य ढाँचामा सुरक्षित तवरले विद्यालय पुनः सञ्‍चालनका लागि पठनपाठन तथा शिक्षण सिकाइदेखि विद्यालय व्यवस्थापन र विद्यार्थी व्यवस्थापनबारे मापदण्ड उल्लेख गरिएको छ । उक्त कार्य सञ्‍चालन ढाँचा  मुलुकभरका सम्पूर्ण विद्यालयमा लागु हुनेछ ।

शिक्षण सिकाइ भयरहित वातावरणमा गर्न र विद्यालयमा कोभिड-१९ को जोखिम नियन्त्रण गर्न मन्त्रालयको स्वीकृतिमा प्रोटोकल तयार पारेको मानवस्रोत विकास केन्द्रका उपमहानिर्देशक अनप्रसाद न्यौपानेले जानकारी दिए । प्रोटोकलमा विद्यालय सञ्‍चालन गर्दा भौतिक सामानको व्यवस्थापन र भौतिक दूरीको व्यवस्थापन गर्नुपर्ने छ । विद्यालयको चउर, शौचालय, पुस्तकाय, प्रशासन र कक्षा कोठालगायतका कोरोना भाइरसको संक्रमण नियन्त्रणको प्रयासस्वरुप भौतिक दूरी कायम  गर्न ‘मार्किङ’को व्यवस्था गर्नु पर्नेछ ।

कक्षा सञ्‍चालनको सुरुवाती दिनमा विद्यालयले आफू अनुकूल निर्णय गर्न सक्नेछन् । अर्थात्, मन्त्रालयले तोकेको मापदण्ड पूरा गर्न सक्ने अवस्था नरहे कक्षा सञ्‍चालन नगर्न पनि पाउँछ ।  यस्तै, स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका संक्रमणको जोखिमबारे अध्ययन गर्ने र सुरक्षित वातावरण बनाइ विद्यार्थीलाई विद्यालय जान प्रेरित गर्नु पर्नेछ । विद्यालयको सरसफाईमा विशेष ध्यान दिनु पर्नेछ । विद्यालयमा उपस्थित सबैले अनिवार्य मास्क लगाउनु पर्नेछ ।

विश्वका अन्य कोरोना प्रभावित मुलुकमा विद्यालय खुलेपछि संक्रमण बढेको र फेरि बन्द गर्नुपरेको थियो । नेपालमा पनि त्यस्तो भयावह स्थिति हुन आएमा विद्यालय बन्द गर्नुपर्ने मापदण्ड तयार गरिएको छ ।  यदि विद्यार्थी तथा शिक्षकमै कोरोना संक्रमण देखिएमा कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा पनि उल्लेख गरिएको छ ।

यस्तै, शिक्षण सिकाइमा विद्यार्थीको सामान प्रयोगमा मापदण्ड तोकिएको छ । विद्यार्थीले एक अर्काका पाठ्यसामग्री नछुने र लिनेदिने कार्य निषेध गरिनेछ । सवारी साधनको हकमा विद्यालय आउँदा-जाँदा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार भौतिक दूरी कायम गरी ५० प्रतिशत मात्र गाडीमा बस्‍न पाइने छ ।

क्‍वारेन्टिन र आइसोलेसन वार्ड राखिएका विद्यालयबाट ती व्यवस्थाहरु  स्थानीय तहले हटाउनुपर्नेछ । साथै ती ठाउँहरुलाई राम्रोसँग ‘डिस्‍इन्फेक्टेड’ गरी सुरक्षित रहेको सुनिश्चित गर्नुपर्नेछ । यस्तै पठनपाठन सहजता लागि विद्यालयबारे अभिभावकलाई जानकारी गराउनुपर्नेछ ।  वैकल्पिक प्रणाली अन्तर्गत ‘बालबालिका सिकाइ सहजता निर्देशिका २०७७’ असार १ गतेबाट लागु भइसकेको छ । यदि नियमित कक्षा सञ्‍चालन हुन नसके अनलाइन कक्षा वा रेडियो टेलिभिजनबाट सञ्‍चालन भइरहेका वैकल्पिक प्रणलीबाटै कक्षाहरु सञ्‍चालन गर्नुपर्नेछ ।

विद्यालयमा छात्रबासको हकमा एउटा बेडमा एक जनामात्र विद्यार्थी सुत्‍नुपर्ने र भौतिक दूरी कायम गर्नुपर्ने व्यवस्था  गरिएको छ । यस्तै, विद्यालय र विद्यार्थीको उपस्थिति हेरेर सञ्‍चालनका लागि सातवटा विकल्प तोकिएको छ । जस्तो, सबै कक्षाका विद्यार्थीलाई एकै समयमा राखेर पढाउने । धेरै विद्यार्थी भए सिफ्ट छुट्याएर पढाउने, सानालाई पहिला या ठूला कक्षाका विद्यार्थीलाई विद्यालय बोलाइ आलोपालो गरी पढाउनेलगायतका छन् ।

यस्तै, दिन बिराएर पढाउने वा कक्षा घण्टी छोट्याएर पढाउनसमेत पाइने व्यवस्था गरिएको छ । प्रोटोकलमा संघ, प्रदेश र स्थानीय तहले कसले के काम गर्ने भन्ने पनि मापदण्ड तोकिएको उपमहानिर्देशक न्यौपानेले बताए ।

प्रतिक्रिया