Pura Samachar

किर्गिस्तानमाथि सोझो सेटमा जित निकाल्दै नेपालले लगातार दोस्रो संस्करणमा पनि फाइनलमा

प्रकाशित: December 27, 2021
पूरा समाचार

किर्गिस्तानमाथि सोझो सेटमा जित निकाल्दै नेपालले लगातार दोस्रो संस्करणमा पनि फाइनलमा

राउन्ड रोविन लिगको अन्तिम खेलमा किर्गिस्तानमाथि सोझो सेटमा जित निकाल्दै नेपालले लगातार दोस्रो संस्करणमा पनि अपराजित रहँदै फाइनलमा स्थान बनाउन सफल भएको हो ।

ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा सोमबार भएको एकपक्षीय खेलमा नेपालले पहिलो सेट २५–८ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको नेपालले तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै फाइनलमा पुग्न सफल भयो ।

अपराजित रहेको नेपालले लिग चरणमा श्रीलंकामाथि ३–२ को सेटमा जित निकालेको थियो । त्यसपछि नेपालले माल्दिभ्स, बंगलादेश र उज्वेकिस्तानलाई समान ३–० को सोझो सेटमा हराएको थियो ।

यसपटकको च्याम्पियनसिपमा सेटर कृपा अधिकारी र मिडल ब्लकर मनिष चौधरीले राष्ट्रिय टोलीमा पूनरागमन गर्दै खेल्दा शान्ति थारु, कामना विष्ट र लक्ष्मी चन्दले डेब्यु गरिन् ।

अब नेपालले उपाधिका लागि मंगलबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणमै नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

उज्वेकिस्तानले सोमबारै श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान बनाउन सफल भएको थियो । मंगलबारै श्रीलंका र किर्गिस्तानबीच तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।

लिग चरणमा अपराजित रहेको नेपालले ५ खेलबाट १४ अंक जोड्यो । दोस्रोमा रहेको उज्वेकिस्तानले ११ अंक जोड्यो । समान ११ अंक नै रहेपनि सेटमा श्रीलंका पछि प¥यो । किर्गिस्तानले ६ अंक जोड्यो । माल्दिभ्स र बंगलादेशले अंकको खाता खोल्न सकेको छैन ।
नेपालले बंगलादेशमै भएको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको थियो ।

२३ डिसेम्वरबाट शुरु भएको च्याम्पियनसिपमा महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहेको छ । च्याम्पियनसिपको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल र तेस्रो स्थानको खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया