Pura Samachar

पुस २५ गते हुने भनिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनिश्चित

प्रकाशित: December 28, 2021
पूरा समाचार

पुस २५ गते हुने भनिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनिश्चित

काठमाडौं । यही पुस २५ गते हुने भनिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनिश्चित बनेको छ ।

भारतमा कोरोना संक्रमण दर वृद्धि भइरहेको र दिल्लीमा रात्रिकालीन कर्फ्यु समेत लगाइएका कारण प्रधानमन्त्री देउवाको भ्रमणबारे पुनर्विचार गर्न थालिएको छ । भ्रमणबारे पुनर्विचारका लागि परराष्ट्र मन्त्रालयमा छलफल सुरु भएको हो ।

मन्त्रालयका एक अधिकारीका अनुसार पुस २५ गतेका लागि निर्धारित प्रधानमन्त्रीको भ्रमण सार्ने या सोही मितिमा भ्रमण गर्ने भन्नेबारे छलफल भइरहेको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारी थाले पनि हालसम्म मन्त्रिपरिषद्ले भ्रमणबारे निर्णय नगरेका कारण पनि अन्योल देखिएको मन्त्रालय स्रोत बताउँछ ।

नेपालस्थित भारतीय दूतावास स्रोतले प्रधानमन्त्री देउवाको भ्रमणबारे अझै प्रस्ट हुन नसकेको जनाएको छ । कोरोना संक्रमणका कारण प्रधानमन्त्रीको भ्रमण भौतिक रुपमै हुने कि भर्चुअल माध्यमबाट सहभागिता जनाउने भन्ने विषयमा विचार विमर्श भइरहेको दूतावास स्रोतको भनाइ छ ।

प्रधानमन्त्री देउवा गुजरातको गान्धीनगरमा पुस २५ गतेदेखि २८ गतेसम्म हुने लागेको भाइब्रेन्ट ग्लोबल समिटमा भाग लिने कार्यक्रम छ । भौतिक रुपमा भ्रमण हुन नसके भर्चुअल माध्यमबाट प्रधानमन्त्री देउवाले सम्मेलनलाई सम्बोधन गर्ने र भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भर्चुअल माध्यमबाटै कुराकानी गर्न सकिने बताइएको छ । देउवाको भारत भ्रमणकै क्रममा जयनगर–जनकपुर रेलको पनि उद्घाटन गर्ने तयारी भइरहेको स्रोत बताउँछ ।

प्रधानमन्त्री देउवाको भ्रमण तयारीकै बीच उनकी पत्नी आरजु देउवा भारत पुग्नुभएको छ ।

प्रतिक्रिया