Pura Samachar

सेन्ट्रल जोन भलिबल विजेतालाई सरकारले नगदसहित पुरस्कृत गर्ने

प्रकाशित: December 30, 2021
पूरा समाचार

सेन्ट्रल जोन भलिबल विजेतालाई सरकारले नगदसहित पुरस्कृत गर्ने

सेन्ट्रल जोन भलिबल विजेतालाई सरकारले नगदसहित पुरस्कृत गर्ने
हालै बंगलादेशमा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको महिला तर्फ विजेता टोलीलाई नेपाल सरकारले पुरस्कृत गर्ने भएको छ।

बुधबार मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजको पहलमा सरकारले सहभागी खेलाडीलाई जनही पाँच लाख, प्रशिक्षकलाई जनही तीन लाख र अफिसियल्सलाई जनही दुई लाख नगद पुरस्कार प्रदान गर्ने भएको हो।

गत मंगलवार ढाकाको सहिद शुरावर्दी राष्ट्रिय इन्डोर रंगशालामा उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपालले लगातार दोस्रोपटक उपाधी आफ्नो पोल्टामा पारेको हो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा नेपालले २६-२४ को रोमाञ्चक जित दर्ता गर्‍यो। तर दोस्रो सेटमा सानदार पुनरागमन गर्दै उज्वेकिस्तानले २६-२४ कै अन्तरमा नेपाललाई हरायो।

तेस्रो सेटमा नेपाल २५-१५ को अंकमा सहजै विजयी बन्दा चौथो सेटमा पुन: उज्वेकिस्तानले २५-२२ को रोमाञ्चक जित निकाल्यो। अन्तिम सेटमा नेपालले १५-११ को अंकमा विजयी बन्दै आफ्नो उपाधी रक्षा गर्न सफल भएको थियो।

सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको पहिलो संस्करणमा नेपालले अपराजित रहँदै उपाधी जितेको थियो। यसपटक पनि नेपालले अपराजित रहँदै उपाधी आफ्नो पारेको छ

प्रतिक्रिया