Pura Samachar

भारत र श्रीलंका एसिसी यू–१९ एसिया कपको फाइनलमा खेल आज हुँदै

प्रकाशित: December 31, 2021
पूरा समाचार

भारत र श्रीलंका  एसिसी यू–१९ एसिया कपको फाइनलमा खेल आज हुँदै

एजेन्सी – भारत र श्रीलंका युएईमा जारी एसिसी यू–१९ एसिया कप २०२१ को फाइनलमा पुगेका छन् । बिहीबार भएको सेमिफाइनलमा भारतले बंगलादेश र श्रीलंकाले पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई २२ रनले पराजित गर्यो । १ सय ४८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४९.३ ओभरमा १ सय २५ रनमा अल आउट भयो । पाकिस्तानका मोहम्मद शाहजादले ७५ बलमा १ चौकासहित ३० र अहमद खानले ७४ बलमा १ चौका सहित ३६ रन जोडे । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

श्रीलंका ट्रेभिन म्याथ्यूले १० ओभरमा ३ मेडन सहित १४ रन खर्चेर ४ विकेट लिए । दुनिथ वेलालेजेले ९.३ ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ३ विकेट लिए । त्यसअघि आइसिसी एकेडेमी दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंका ४४.५ ओभरमा १ सय ४७ रनमा अल आउट भयो ।

श्रीलंकाका तल्लोक्रमका यासिरु रोर्डिगो र मथेशा पाथीरानाले ३१–३१ रन बनाए । एक समय ७०–८ को अवस्थामा पुगेको श्रीलंकालाई नवौं विकेटका लागि रोर्डिगो र पाथिरानाले ४७ तथा अन्तिम विकेटका लागि म्याथ्यु र यासिरुले ३० रनको साझेदारी गरेका थिए । पाकिस्तानका सैद जिशान जामिरले १० ओभरमा १ मेडनसहित ३२ रन खर्चेर ४ विकेट लिए । अहमद खान र वविस अलीले २–२ विकेट लिए ।

अर्को सेमिफाइनलमा भारतले बंगलादेशलाई १ सय ३ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गर्यो । शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४३ रन बनायो । भारतका शीर्षक्रमका ब्याटर शेख राशिदले १ सय ८ बलमा ३ चौका र १ छक्कासहित ९० रनको महत्वपूर्ण इनिङ खेले ।

विक्की वोस्टलले २८ र कप्तान यश धुल २६ रनमा आउट भए । बंगलादेशका कप्तान रकिबुल हसनले सर्वाधिक तीन विकेट लिए । २ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ३८.२ ओभरमा १ सय ४० रनमा अल आउट भयो । बंगलादेशका अरिफुल इस्लामले ७७ बलमा १ चौकासहित सर्वाधिक ४२ रन बनाए ।

मफिजुल इस्लामले २६ र रकिबुलले १६ रन जोडे । भारतका रवि कुमार, राज बावा,विक्की ओस्टल, राजवर्धन हांगरगेकरले २–२ विकेट लिए । फाइनल शुक्रबार हुनेछ । नेपाल समूह बी मा रहेपनि बंगलादेश, श्रीलंका र कुवेतसँग पराजित हुँदै जित विहीन हुँदै बुधबार स्वदेश फर्किएको थियो ।

प्रतिक्रिया