
एजेन्सी – भारतले एसिसी यू–१९ एसिया कप २०२१ को उपाधि जितेको छ । शुक्रबार फाइनलमा श्रीलंकालाई ९ विकेटले हराउँदै भारतले आठौं पटक यू-१९ एसिया कपको उपाधि जितेको हो ।
डकवर्थ लेविस पद्धतीको आधारमा जितको लागि १ सय २ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २१.३ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । भारतको जितमा ओपनर अङ्कृष्ण रघुवंशी ६७ बलमा ७ चौकासहित ५६ रनमा अविजित रहे । शेख राशिद ४९ बलमा २ चौका सहित ३१ रनमा अविजित रहे ।
त्यसअघि दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ३८ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । वर्षाले प्रभावित हुँदा खेल ३८ ओभरमा झारिएको थियो ।
श्रीलंकका तल्लोक्रमका यासिरु रोर्डिगोले २६ बलमा २ चौका सहित सर्वाधिक १९ रन बनाए । मथिशा पाथिरानाले १४, रविन डि सिल्भाले १५ र सदिशा राजपक्षेले १४ रन बनाए । भारतका विक्की ओस्टलले सर्वाधिक तीन विकेट लिए । कौशल ताम्बेले दुई विकेट लिएका थिए ।
भारतले आठौं पटक यू-१९ एसिया कपको उपाधि जितेको हो । हाल सम्म यू-१९ एसिया कपको नौं संस्करण सकिँदा भारतले एक पटक मात्र गुमाएको छ । २०१७ मा भारत पहिलो पटक फाइनल नपुगि बाहिरिएको थियो । त्यस वर्ष भारतले नेपालसँग हारेको थियो । २०१२ मा भारतले पाकिस्तानसँग संयुक्त रुपमा उपाधि बाँडेको थियो । अन्य सबै संस्करण (१९८९, २००३, २०१३/१४, २०१६, २०१८, २०१९ र २०२१) मा भारत च्याम्पियन बनेको छ ।
नेपाल समूह बी मा रहेपनि बंगलादेश, श्रीलंका र कुवेतसँग पराजित हुँदै जित विहीन हुँदै बुधबार स्वदेश फर्किएको थियो ।
प्रतिक्रिया