Pura Samachar

जनमत पार्टीका कार्यकर्ताले सिरहाको मिर्चैया बन्दको अवज्ञा गरेको भन्दै एक ट्रकमा आगजनी

प्रकाशित: January 3, 2022
पूरा समाचार

जनमत पार्टीका कार्यकर्ताले सिरहाको मिर्चैया बन्दको अवज्ञा गरेको भन्दै एक ट्रकमा आगजनी

जनमत पार्टीका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया बतहाखोला नजिकै एक ट्रकमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले हिमालय सुगरमिल्समा उखु पु¥याएर पश्चिमतर्फ जाँदै गरेको ना५ख १००९ नम्बरको ट्रकमा आगजनी गरेका हुन् ।

सो ट्रकका धनीसमेत रहेका चालक विजय साहका अनुसार एक्कासी ट्रकमा ढुंगामुढा गरेपछि आत्तिएर गाडी रोक्ने बित्तिकै उनीहरुले ट्रकमा पेट्रोल छर्केर आगजनी गरेका हुन् । घाइते चालक र सहचालकको मिर्चैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ । आगो प्रहरीको सहयोगले नियन्त्रणमा लिए पनि ट्रक पूर्णरुपले जलेको छ ।

मिथिला नगरपालिका–९, धनुषाका साहले पाँच कठ्ठा जमिन बैंकमा धितो राखेर दुई वर्ष अगाडि ट्रक किनेको बताए । त्यही ट्रकको आम्दानीले ऋण तिर्ने योजना बनाएका उनी ट्रक नै आगजनी भएपछि चिन्तित बनेका छन् ।

बन्दका क्रममा जनमतका कार्यकर्ताहरु छापामार शैलीमा सडकमा आई गाडी तोडफोड र आगजनी गरिरहेका छन् । यसअघि पनि जनमत पार्टीका कार्यकर्ताले सिरहाको चोहर्वा र सप्तरीमा राजमार्गमै ट्रक जलाएका थिए । पार्टीले किसान आन्दोलनको नाममा पुस १५ गतेबाट अनिश्चितकालीन तराई मधेसको दिवाकालीन सडकजाम आह्वान गरेको छ ।

प्रतिक्रिया