Pura Samachar

शेर्पाको लगातार तेस्रो जित

प्रकाशित: January 3, 2022
पूरा समाचार

शेर्पाको  लगातार तेस्रो जित

नवप्रवेशी सातदोबाटोमाथि झिनो जित निकाल्दै हिमालयन शेर्पा क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ ।

कप्तान विश्वास श्रेष्ठको गोलमा शेर्पाले सातदोबाटोलाई १–० ले पराजित गर्दै अंक तालिकामा सुधार गरेको हो । फितलो र निराशजन बनेको खेलको ४४औं मिनेटमा विश्वासले पेनाल्टीमार्फत गरेको गोल नै शेर्पाको जितमा निर्णायक बन्यो ।

४२औं मिनेटमा त्रिदेव गुरुङलाई पिटर सेगुनले पेनाल्टी बक्समा लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले शेर्पालाई पेनाल्टी प्रदान गरे । जसमा कप्तान विश्वास श्रेष्ठ चुकेनन् । त्यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको निराशजनक खेलको १०औं मिनेटमा सुरेश कुमालको प्रहार फितलो बन्दा गोलरक्षक अभिषेक बरालले सहजै नियन्त्रणमा लिए ।

प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफको गोल नै निर्णायक बन्यो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मुताम्वा पिस्टोनले वान भर्सेस वानको अवस्थामा सुवर्ण अवसर पाएपनि लड्न पुग्दा शेर्पा अग्रता दोब्बर पार्नबाट चुक्यो ।

इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा मार्टिन एडेल्फे सिलो नङ्गा पेनाल्टीमा चुक्दा सातदोबाटो बराबरीबाट चुक्दा पराजित हुन पुग्यो । जीवन गुरुङले पेनाल्टी बक्समा मार्टिन एडेल्फे सिलो नङ्गालाई लडाएपछि प्राप्त पेनाल्टीमा उनकै प्रहार गोलरक्षक दीप कार्कीले सहजै नियन्त्रणमा लिन सफल भएका थिए ।

शेर्पाको यो लगातार तेस्रो जित हो । यसअघि शेर्पाले बिबिसी र च्यासललाई समान ३–१ ले पराजित गरेको थियो । त्यसअघि संकटा र पुलिससँग १–१ गोलको बराबरी तथा मनाङसँग १–० र मछिन्द्रसँग ३–० को हार बेहोरेको थियो ।

जितसँगै शेर्पा ७ खेलबाट ११ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । यसअघि शेर्पा नवौं स्थानमा रहेको थियो । समान ११ अंक नै रहेपनि आर्मी गोलअन्तरमा चौथो स्थानमा रहेको छ । शेर्पाले सातौ चरणको खेल सकिदा ३ जित, समान दुई बराबरी र हारको नतिजा निकालेको छ । पराजित सातदोबाटो ७ खेलबाट ८ अंक जोडेर आठौं स्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया