नेपालगञ्ज । महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आइतबारदेखि निषेधाज्ञा जारी गरेको छ ।
नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा संक्रमण देखिएपछि स्थानीय प्रशासनले तीन दिनका लागि निषेधाज्ञा जारी गरेको हो ।
कोरोनाको जोखिम हुन नदिन तीन दिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ । प्रशासनको आग्रहलाई अटेर गरी अनावश्यक रूपमा हिँडडुल गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने कुरुम्बाङले बताए । ।
निषेधाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने छ ।
त्यसैगरी एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालवाहक गाडी र सवारी अनुमति (पास) भएका गाडी मात्र सञ्चालनमा आउन पाउने छन् ।
पछिल्लो पटक संक्र्रमण देखिएका ३० जनाको सम्पर्कमा आएका चार सय २३ व्यक्तिको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । कन्टयाक्ट ट्रेसिङ गर्दै समुदायमा कोरोना संक्रमण फैलिन नदिन स्थानीय प्रशासन लागिपरेको छ ।
आन्तरिक राजश्व, यातायात व्यवस्था कार्यालयका कर्मचारी र व्यस्त रहने त्रिभुवन चोकको एक मिठाई पसल सञ्चालकमा कोरोना संक्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
उहाँका अनुसार नेपालगञ्जका तीन आइसोलेसन केन्द्र र खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा गरी बाँकेका ५४ सङ्क्रमितलाई राखिएको छ । बाँकेमा हालसम्म कोरोनाबाट दुईको मृत्यु भइसकेको छ भने सङ्क्रमितको सङ्ख्या ४३७ पुगेको छ ।
प्रतिक्रिया