Pura Samachar

देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह

प्रकाशित: January 5, 2022
पूरा समाचार

देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह

बुधवारदेखि शनिवारसम्म देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज रातिदेखि नेपालमा फेरि नयाँ मौसमी प्रणाली भित्रिने र यसको प्रभाव भोलिदेखि शनिवारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज विशेष बुलेटिन निकाल्दै पश्चिमी न्यूनचापीय प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र,पर्वतारोहण,कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरे ।

सुदूरपश्चिम क्षेत्रमा अहिले यसको सामान्य असर देखिइसकेको मौसमविद् मञ्जु बासीले जानकारी दिए । सुदूरपश्चिममा भोलिदेखि पानी पर्न थाल्ने उहाँले बताउनुभयो । आइतवारदेखि भने यो प्रणाली कमजोर हुने र मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा आज र भोलि कम तथा बिहीवार,शुक्रवार र शनिवार बढी प्रभाव पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।

यो प्रणालीको असर सुदूरपश्चिममा बढी र प्रदेश १ र २ मा कम पर्ने सम्भावना छ । सामान्य प्रभाव भने देशभरि नै पर्नेछ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बढी प्रभाव देखिने छ ।

यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

प्रतिक्रिया