
निर्मला कुर्मीको अपहरण, शरीर बन्धक गरी हत्या प्रकरणमा आमरण अनसनमा बसेकी रुवी खानले आजबाट अनसन तोडेकी छन्।
महिला अधिकार मञ्चले बुधबार माइतीघरमा पत्रकार सम्मेलन गरि एक विज्ञप्ति जारी गर्दै जारी आन्दोलन स्थगित गर्ने र खानले आजैको मितिदेखि अनसन तोड्ने जनाएको छ। सरकारसँग मंगलबार चार बुँदे सहमति भएपछि उनले अनसन तोड्न लागेकी हुन्।
सहमतिमा कथमकदाचित न्याय पाउने बाटोमा अवरोध आए फेरि निरन्तर आन्दोलनमार्फत खबरदारी गर्ने पनि उनले विज्ञप्तिमार्फत जनाएकी छन्।
‘यसरी भएको सहमतीमा कथमकदाचित न्याय पाउने बाटो कुनै पनि आरोह अबरोध आयो भने हामी निरन्तर खबरदारी गर्नेछौं । न्यायको आन्दोलन स्थगित मात्र भएको छ, अन्त्य भएको होईन’, विज्ञप्तिमा भनिएको छ, ‘हामी न्याय विरूद्धमा कुनै चलखेल भएको जानकारी हुनासाथ पुनः यो भन्दा कडा आन्दोलन सुरू गर्ने चेतावनीसमेत दिन चाहान्छौं।’
सरकारले उनको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि खानले डाक्टर गोविन्द केसीको हातबाट जुस पिएर आमरण अनसन तोडेकी थिइन्। सहमतीहरू
१. निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी जाहेरीमा औल्याईएका विषयमा केन्द्रिय अनुसन्धान ब्युरोमार्फत अनुसन्धान गर्ने गरि श्री प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंमा पत्राचार गर्ने सहमती गरियो।
२. निर्मला कुर्मी अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धमा जाहेरवाला, साक्षी, आन्दोलनरत व्यक्तिलाई समेत अभियुक्तको तर्फबाट धाकधम्की, प्रलोभन आएको भन्ने विषयमा निजको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा निकायलाई गृह मन्त्रालयले निर्देशन दिने सहमती गरियो।
३. छानबिन प्रतिवेदनमा औल्याएका विषयहरु कार्यान्वयन गर्न सम्बन्धीत निकायहरुमा पत्राचार गर्ने, यसमा पुर्व भएका पत्राचार कारबाहीका विषयमा प्रगति विवरण प्राप्त गर्ने कार्यान्वयनका लागि फलोअप गर्ने सहमती गरियो ।
४. उल्लेखित विषयलाई लिएर आमरण अनसनमा रहेकी रुचि खानले आजैका मितिबाट अनशन तोडने, निजसहितका आन्दोलनरत व्यक्तिहरुले धर्ना सहितका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने सहमति गरियो।
प्रतिक्रिया