Pura Samachar

डाक्टर, सेना, पत्रकार, थुनुवासहित वीरगंजमा थपिए ३४ संक्रमित

प्रकाशित: August 4, 2020

डाक्टर, सेना, पत्रकार, थुनुवासहित वीरगंजमा थपिए ३४ संक्रमित

वीरगंज : वीरगंजमा थप ४ महिलासहित ३४ जना नयाँ संक्रमित थपिएका छन्। जसमध्ये दुई जना बाराका रहेका छन् भने एक जना सुर्खेतका। बाँकी ३१ जना मध्ये ३ जना पोखरीया नगरपालिका र एक जना जिराभवानी गापाको सेढवाका। बाँकी संक्रमित मध्ये २७ जना वीरगंजको विभिन्न वडामा बसोबास गर्छन्। संक्रमित हुनेहरुको उमेर १४ वर्षदेखि ५६ वर्षसम्म रहेको छ।

संक्रमित चार जना महिलाहरुको उमेर १६,२६,२८ र ४९ रहेको छ। सुर्खेत घर भई नेशनल मेडिकल कलेजको क्वाटरमा बसी काम गर्ने २८ वर्षीया महिला डाक्टरमा संक्रमण देखिएको हो। त्यस्तै, वीरगंज ११ रानीघाट घर भइ नारायणी बयोधा अस्पताल प्रालि गण्डकमा कार्यरत ३४ वर्षीय पुरुष डाक्टरमा पनि संक्रमण देखिएको छ। आज दुई जना चिकित्सकमा संक्रमण देखिएको नारायणी अस्पताल वीरगंजका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए। त्यसैगरी, नारायणी अस्पताल वीरगंजको फार्मेसीमा कार्यरत ३० र ४३ वर्षका दुई पुरुष, नारायणीकै पारामेडिक्सको कन्ट्याक्ट ट्रेसिङ्मा परेका २१, २७ वर्षका दुई गरी कूल चारजना स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन्।

चण्डीप्रसाद गण वीरगंज घण्टाघरमा कार्यरत एवं शव व्यवस्थापन टोलीमा खटेका २८, ३० र ३२ वर्षका तीन जना नेपाली सेनाका सिपाही पनि संक्रमित भएका छन्। वीरगंज सञ्जाल अनलाइनका एक जना २२ वर्षीय सञ्चारकर्मी र वडा प्रहरी कार्यालय विर्तामा थुनुवामा रहेका २० वर्षे पुरुष पनि संक्रमित भएका छन्। वीरगंजबाहेक पर्सा पोखरीया नगरपालिका वडा नं २ का कन्ट्याक्ट ट्रेसिङमा परेका १६ वर्षे बालिका, १४ वर्षे बालक र २० वर्षे पुरुष, जिराभवानी गापा सेढवाका २२ वर्षीय पुरुष संक्रमित देखिएका छन्। बारा, फेटा गापा ४ का २८ वर्षका र कलैया उप महानगरपालिकाका २९ वर्षे पुरुष गरी दुई जना बाराका बासिन्दा पनि संक्रमित भएका छन्।

प्रतिक्रिया