Pura Samachar

तत्काल कुनै प्रकारको लकडाउन गर्नुपर्छ भन्ने पक्षमा छैन:स्वास्थ्य मन्त्रालय

प्रकाशित: January 10, 2022
पूरा समाचार

तत्काल कुनै प्रकारको लकडाउन गर्नुपर्छ भन्ने पक्षमा छैन:स्वास्थ्य मन्त्रालय

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको रहेको छ ।

दैनिक एक हजार जनाभन्दा बढी संक्रमित हुन थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले माध्यमिक तहसम्मका सबै विद्यालय आगामी माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। साथै २५ जना बढी मानिस एकै ठाउँ जम्मा नहुन र सार्वजनिक स्थलहरूमा खोप कार्ड देखाएर मात्र प्रवेश दिन भनेको छ।

सिसिएमसीको पछिल्लो सिफारिसले अब लकडाउन हुने हो कि भन्ने चासो बढेको छ । सरकारले लकडाउन गर्न निर्णय लिने अधिकार सिसिएमसी र जिल्लास्तरीय डिसिसिएमसीलाई दिएको छ। तर यी दुबै निकायले निर्णय लिँदा स्वास्थ्य मन्त्रालयको धारणालाई आधार मानेर लकडाउन गर्ने नगर्ने निर्णय लिने गर्दछ ।

स्वास्थ्य मन्त्रालय भने तत्काल कुनै प्रकारको लकडाउन गर्नुपर्छ भन्ने पक्षमा छैन। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले तत्काल लकडाउनमा गइहाल्नु पर्ने अवस्था नरहेको बताउनुहुन्छ । त्यसैले अहिले लकडाउन नै गरेर मान्छेलाई घरमै थुन्नेबारे सरकारले केही नसोचेको उहाँको भनाइ छ । स्वास्थ्य प्रणाली नै धरासायी बन्ने स्थिति आइपर्‍यो भने मात्र लकडाउनको रणनीतिमा जानुपर्ने डा अधिकारी बताउनुहुन्छ ।

उहाँका अनुसार अहिलेको सरोकार भनेको संक्रमणलाई थप फैलिन नदिनु हो । यसका लागि जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गरे संक्रमणलाई रोक्न सकिन्छ । एउटै समयमा धेरै बिरामी पर्ने अवस्था कम गर्ने सके अहिले आइसियू बेडलगायत स्रोत साधनले पुग्ने उहाँको दाबी छ ।

अधिकारीका अनुसार कोभिड बिरामीको उपचारका लागि अहिले देशभर झन्डै २८ सय आइसियू बेड र एक हजार भेन्टिलेटर तयारी अवस्थामा रहेका छन्। जुन संख्या दोस्रो लहरको भन्दा दोब्बर बढी हो। गत वैशाखयता दोस्रो लहर सुरू हुँदा र उत्कर्षमा पुग्दासमेत देशभर एक हजारको हारहारीमा मात्र आइसियू बेड थिए। त्यसैले जनस्वास्थ्यको मापदण्ड पालना गर्न सके त्यसपश्चात आउने समस्यालाई अहिले भएका स्रोतले धान्नसक्ने मन्त्रालयको बुझाइ छ।

अहिले धेरै मानिसहरूले खोप लगाएकोले अहिलेको अवस्था पहिलो र दोस्रो लहरको जस्तो नरहेको मन्त्रालउको भनाइ छ । संक्रमण भइहाले पनि जटिलता हुनबाट धेरै जोगाउने विज्ञहरुको बुझाइ छ। यस्तै अहिले भेटिएका ओमिक्रोन संक्रमितहरूको अवस्था पनि सामान्य रहेको उनीहरुको दाबी छ ।

ओमिक्रोन फैलिएका देशहरुको अवस्था हेर्दा कतै पनि गम्भीर अवस्था नरहेकोले संक्रमण बढ्यो भनेर तर्सिएर लकडाउनमा गइहाल्नुपर्ने अवस्था नरहेको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया