
नेपाल एपीएफ क्लब र बागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७८ मा सुखद सुरुवात गरेका छन्। समुह ’बि’ अन्तर्गत एपीएफले प्रदेश नम्बर दुई र बागमतीले लुम्बिनी प्रदेश विरुद्ध विजयी बनेका हुन्।
प्रतियोगिताको तेस्रो खेलमा साविक उपविजेता एपीएफ २४ रनले विजयी बनेको हो। किर्तिपुरस्थित टि.यु. मैदानमा एपीएफले टस हारेर पहिलो ब्याटिङ ग¥यो। र २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनायो।
साविक उपविजेताका लागि आसिफ शेखले ४५ बलमा ६३ र प्रदिप ऐरिले ४८ बलमा ६० रन बनाएका थिए। यस्तै सन्दिप जोराले १७ रन जोडे। प्रदेश दुईका लागि रुपेश सिंहले ४ ओभरमा मात्र २५ रन दिएर ४ विकेट चट्काए। यस्तै बिबेक यादवले १ विकेट हात पारे।
ब्याटिङमा प्रदेश दुईका लागि हरिशंकर शाहले २६ बलमा ३६ रन जोड्दा, मोहम्मद आदिल आलामले १४ बलमै ३५ बनाए। यस्तै सुरज पटेल १५, बिबेक यादवले १३ र कुमार थापाले १० रन थप्दा प्रदेश दुईको २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बन्यो।
प्रदेश दुईलाई योगफल अघि रोक्न एपीएफका कमलसिंह ऐरि, भुवन कार्की र अभिनास बोहराले २–२ विकेट चट्काए। यस्तै किशोर महतो र शरद भेषावकरले १–१ विकेट हात पारे।
यता प्रतियोगिताको चौथो खेलमा बागमती प्रदेश ४९ रनले विजयी बनेको हो। मुलपानी मैदानमा टस जितेर बागमतीले सुरुमा ब्याटिङ ग¥यो। र २० ओभरमा ७ विकेट गुमाएर ११४ रनको सामान्य ’स्कोर’ बनायो।
बागमतीका लागि सुभास खकुरेलले ५३ बलमा ५१ रन बनाए। कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा १९ रन बनाउँदा इशान पाण्डे १३ रनमा पभेलियन फर्किए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बागमतीलाई सामान्य स्कोरमा रोक्न लुम्बिनीका दुर्गेस गुप्ता र अनिल खरेलले २–२ विकेट चट्काए। यस्तै सिधाान्त शाही, बासिर अहमद र बिक्रम भुसालले १–१ विकेट लिए। तर बलिङमा सानदार प्रदर्शन गरेपनि प्रदेश दुईको ब्याटिङ भने निकै कमजोर रह्यो।
कप्तान कृष्ण कार्की (१५) बासिर अहमद (११) बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। र लुम्बिनी १५.४ ओभरमा ६५ रनको स्थितिमै अलआउट भयो।
बागमतीका लागि ३ ओभरमा ११ रन खर्चंदै नन्दन यादवले ३ निकाले। रामनरेश गिरिले ३ ओभरमै २ रन दिएर, सुभाष खत्रीले ४ ओभरमा १८ रन दिएर र तिलक भण्डारीले १.४ ओभरमा ४ रन दिएर २–२ विकेट हात पारे।
यस्तै रिजन ढकालको खातामा १ विकेट रह्यो।
प्रतिक्रिया