
सर्लाही । जिल्लामा १ महिनासम्म भएको शिविरबाट २५ हजार बढी नयाँ मतदाता थपिएका छन । जिल्लाका विभिन्न पालिकामा गत मंसिर १ गत्तेदेखि संचालन भएको मतदाता नामावली संकलन शिविरबाट २५ हजार २५४ नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकृत दिवाकर भुजेलले जानकारी दिनुभयो ।
जिल्लामा दुई चरणमा मतदाता नामावली संकलन शिविर राखिएको थियो । पहिलो चरणमा मंसिर १७ बाट पुस २ सम्म ८ ओटा स्थानीय तहमा र पौष ४ गत्तेबाट १८ गत्तेसम्म ९ ओटा स्थानीय तहमा मतदाता नामावली संकलन शिविर सञ्चालन गरिएको थियो ।
जिल्लामा संचालित दुई चरणको शिविरमा पनि धेरैले नाम दर्ता गर्न नपाएको गुनासो गरेका छन् । शिविरमा नाम दर्ता गराउन छुटेकाहरुको हकमा भने सदरमुकाम मंलगवामा रहेको जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय तथा हरिवन र बरहथवा नगरपालिकामा रहेका इलाका प्रशासन कार्यालयबाट चुनावको मिति घोषणा नभएसम्म नियमित रुपमा मतदाता नामावली संकलन गराउन सकिने जिल्ला निर्वाचन अधिकृत भुजेलले बताउनुभयो ।
अहिले पनि जिल्लाका ४ स्थानबाट भईरहेको नामावली संकलन केन्द्रबाट मासिक रुपमा ८ देखि १० हजारको हाराहारिमा नामावली संकलन भईरहेको उहाँको भनाइ छ । समग्रमा हालसम्मको मतदाता नामावली संकलनको तथ्यांक हेर्ने हो भने जिल्लामा ६० हजार भन्दा माथि मतदाता थपिएका निर्वाचन अधिकृत भुजेलको भनाइ छ ।
अधिकृत भुजेलका अनुसार जिल्लामा २०७४ को चुनावपछि १ लाखको हाराहारिमा नयाँ मतदाता थपिने अनुमान गरिएको छ । यसैबीच निर्वाचन अधिकृत भुजेलले आगामी माघ ७ गतेपछि अनिवार्य रुपमा कोरोना विरुद्धको खोपकार्ड देखाएपछि मात्रै नामावली संकलन गरिने बताउनुभएको छ ।
नेपाल सरकारले गरेको निर्णय वमोजिम कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै त्यस्तो निर्णय गर्न लागिएकाे भुजेलको भनाइ छ ।
प्रतिक्रिया