Pura Samachar

बार्सिलोना र रियल म्याड्रिडले स्पेनिस सुपर कपको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै

प्रकाशित: January 12, 2022
पूरा समाचार

बार्सिलोना र रियल म्याड्रिडले स्पेनिस सुपर कपको सेमिफाइनलमा  प्रतिस्पर्धा गर्दै

यस सिजनको दोस्रो ‘एल क्लासिको’ अर्थात बार्सिलोना र रियल म्याड्रिडले स्पेनिस सुपर कपको सेमिफाइनलमा आज (बुधबार) राति प्रतिस्पर्धा गर्दैछ ।

खेल साउदी अरवको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । दुवै टोली जित निकाल्दै फाइनल पुग्ने दाउँमा हुनेछ ।

यो सिजनको पहिलो एल क्लासिकोमा जित हात पारेको रियल म्याड्रिड सोही जितलाई निरन्तरता दिदै फाइनल पुग्ने दाँउमा हुनेछ । रियलले गत अक्टोवरमा बार्सिलोनालाई उसकै मैदानमा २–१ ले पराजित गरेको थियो ।

रियलसँग यो सिजन उच्च लयमा रहेका कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियरसँगै मार्काे एसेन्सियो, लुका मोड्रिच, क्यासमिरो, टोनी क्रुस, डेभिड अलाबा, फर्लान्ड मेन्डी, इडर मिलिसाओ, ड्यानी कार्भाजल र गोलरक्षक थिवाउट कोर्टुवाको साथ रहेको छ । यस्तै रोड्रिगो, इडेन हाजार्ड, लुकास भास्क्वेज, इडुआर्डाे कामाभिंगा, फेडे भाल्भेर्डे, इस्को, नाँचो फर्नान्डेस र मार्सेलो पनि टोली टोलीमा रहेका छन् ।

यता, बार्सिलोना पनि लयमा रहेको रियललाई स्तब्ध पार्दै स्पेनिस सुपर कपको फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । तर, बार्सिलोनाको यो सिजन राम्रो हुन सकेको छैन । प्रशिक्षक जाभी हर्नान्डेजले रियल म्याड्रिडविरुद्ध फेरान टोरेसलाई टोलीमा समेटेको छ ।

पेड्री पनि कोरोनामुक्त हुँदै टोलीमा फर्किएका छन् । चोटबाट अन्सु फातीको आगमनले पनि बार्सिलोना उत्साहित छ । औसमाने डेम्वेले, मेम्फिस डिपाए, लुक डि जोङ, फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स, पाब्लो गाभी, क्लेमेन्ट लेङ्लेट, जेरार्ड पिके, सर्जिनो डेस्ट र गोलरक्षक मार्क आन्दर टेर स्टेगन पनि टोलीमा रहेका छन् । निको गोन्जालेज, जोर्डी अल्वा, ड्यानी आल्भेस, एरिक गार्सिया र फेरान जुट्ग्ला पनि टोलीमा रहेका छन् ।

यि दुई टोलीको पछिल्लो ५ खेलको नतिजामा रियल बार्सिलोनासँग अपराजित छ । जसमा चार जित र एक बराबरीमो नतिजा छ । रियलले पछिल्लो चारै खेलमा जित निकालेको छ । रियल यही अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा मैदानमा उत्रनेछ । रियल पछिल्लोपटक ३ मार्च २०१९ मा १–० ले पराजित भएको थियो । बार्सिलोना पनि रियलसँगको हारको श्रृंखलालाई तोड्ने लक्ष्यमा हुनेछ ।

अर्काे सेमिफाइनलमा बिहीबार राति एट्लेटिको म्याड्रिड र एथलेटिको बिल्वाओबीच प्रतिस्पर्धा हुनेछ । फाइनल १७ जनवरीमा हुनेछ ।

प्रतिक्रिया