Pura Samachar

ओमिक्रोन भेरियन्ट एक जनाबाट १० जनामा सङ्क्रमण सार्ने

प्रकाशित: January 13, 2022
पूरा समाचार

ओमिक्रोन भेरियन्ट एक जनाबाट १० जनामा सङ्क्रमण सार्ने

काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सङ्क्रमण अन्यभन्दा तीव्र गतिमा बढ्ने अनुसन्धानले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा आबद्ध रहेका सङ्क्रामक रोग विशेषज्ञ प्रा.डा. जनक कोइराला ओमिक्रोन भेरियन्ट (तेस्रो लहर)ले पहिले देखिएको भेरियन्टको तुलनामा धेरै मानिसलाई सङ्क्रमित बनाउने बताए ।

उनकाअनुसार ओमिक्रोन भेरियन्ट एक जनाबाट १० जनामा सङ्क्रमण सार्ने गर्दछ ।

“सङ्क्रमणको पहिलो लहरले एक जनाबाट अर्को दुई जनालाई, दोस्रो लहरमा डेल्टा भाइरसले एक जनाबाट चारदेखि पाँच जनासम्म सङ्क्रमित बनाउने गर्दथ्यो,” उनले भने, “तर, अहिले तेस्रो लहरको ओमिक्रोन भाइरसले एक जनाबाट १० जनालाई सङ्क्रमित गराउने गर्दछ । त्यसैले यो द्रुत गतिमा फैलिन्छ ।”एकैदिन तीन हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । ओमिक्रोन भेरियन्टबाट बच्नका लागि व्यक्ति आफू नै सजक हुनुपर्ने उनी बताउँछन् । “व्यक्तिबाट व्यक्ति सर्ने रोग भएकाले यसबाट बच्न आफू नै सर्तक हुनुपर्दछ,” उनले भने, “हामीले जनस्वास्थ्यका मापदण्ड लागू गर्‍यो भने सायद यसले व्यापक रूप लिँदैन ।”

हात नियमित धुने, भिड भएका ठाउँमा नजाने, मास्क राम्रोसँग लगाउनले सङ्क्रमणबाट बच्न सकिन्छ । यस्तै ओमिक्रोन भेरियन्टबाट बच्नका लागि खोप बढीभन्दा बढी मानिसलाई लगाउनुपर्दछ । ओमिक्रोन सङ्क्रमण मानिसमा रुघा लागेर माथिल्लो श्वासप्रश्वास नलिमा इन्फेक्सन (असर) गर्दछ ।

“सङ्क्रमण नलीमा टाँसिएर रुघा बढी लगाउने गर्दछ । जबकी डेल्टा भाइरस सिधै फोक्सोमा असर गर्दथ्यो,” सङ्क्रामक रोग विशेषज्ञ डा. कोइरालाले भने, “ओमिक्रोनले पनि मानिसमा रुघा लाग्ने, जीउ दुख्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिन्छ र यसले फोक्सो सिधै सङ्क्रमण गरेर निमोनिया बनाउने कम गर्दछ ।”

खोप लगाएका व्यक्तिलाई ओमिक्रोन भेरियन्टले त्यति गाह्रो नबनाउने उनको भनाइ छ ।

प्रतिक्रिया