Pura Samachar

प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा

प्रकाशित: January 13, 2022
पूरा समाचार

प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा

ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा उक्लिएका छन्। विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका हुन् । उनको १० हजार पाँच सय अङ्क रहेको छ ।

महासङ्घले जारी गरेको बरियताअनुसार जुनियरतर्फ दोस्रो बरियतामा मलेसियाका जस्टिन होह छन् । उनको नौ हजार पाँच सय ९० अङ्क रहेको छ । यस्तै मलेसियाकै फाजरिक मोहमद रजिफ छ हजार नौ सय २५ अङ्कसहित तेस्रो स्थानमा छन् । फ्रान्सका एलेक्स लानिर छ हजार सात सय अङ्कका साथ चौथो तथा भारतका एस शङ्कर मुथुसामी सुब्रमन्यम छ हजार ३४० अङ्कसहित पाँचौँ स्थानमा छन् ।

विश्व ब्याडमिन्टनको जुनियरतर्फ शीर्ष खेलाडी बनेपछि दाहालले रासससित कुरा गर्दै आफ्नो सपना पूरा भएको बताए । उनले आफू विश्वकै एक नम्बर खेलाडी बन्ने उद्देश्यका साथ खेल्दै आएको र त्यो पूरा हुँदा अत्यन्त खुसी लागेको बताए । अबको ध्यान बरियतालाई कायमै राख्नतर्फ रहने भन्दै दाहालले भविष्यमा सिनियर ब्याडमिन्टन प्रतियोगितामा समेत प्रदर्शन राम्रो गर्दै जाने बताए।

नेपालमा प्रतियोगिताको अभाव तथा राम्रो प्रशिक्षण पाउन मुश्किल भएको दाहालको गुनासो छ । राज्यले खेलाडीका लागि उचित वातावरण बनाइदिनुपर्ने उनको भनाइ छ । कोरोना महामारीका कारण लामो समयदेखि प्रतियोगिता र प्रशिक्षणबाट वञ्चित रहनुपरेको दाहाल बताउँछन्। पाँच वर्षको उमेरमै दार्चुलाबाट ब्याडमिन्टन खेल्न थालेका दाहाल हाल काठमाडौँमै अध्ययनरत छन् ।

प्रतिक्रिया