Pura Samachar

नवप्रवेशी सातदोबाटोले मनाङलाई २–१ ले हरायो

प्रकाशित: पुस ३०, २०७८
पूरा समाचार

नवप्रवेशी सातदोबाटोले मनाङलाई २–१ ले हरायो

काठमाडौं । उपाधि होडमा रहेको मनाङ मर्स्याङ्दी क्लबलाई सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार नवप्रवेशी सातदोबाटो युथ क्लबले स्तब्ध बनाइदिएको छ । मनाङलाई सातदोबाटोले २–१ ले हराएको हो ।

लगातार दुई खेल पोखरा रंगशालामा खेलेर फर्किएको मनाङ दशरथ रंगशालामा पहिलो हाफमै २–० ले पछाडि परेको थियो । ११औँ मिनेटमा मार्टिन एडेल्फे सिलोले गरेको गोलमा सातदोबाटोले अग्रता लिएको थियो । ३८औँ मिनेटमा प्रशान्त अवस्थीको क्रसमा अनमार्क रहेका मार्टिन्स अजयीले हेडरमार्फत सातदोबाटोको अग्रता दोब्बर बनाए ।

५६औँ मिनेटमा आफिज ओलाओलेले गरेको गोलबाट मनाङले पुनरागमनको संकेत गरेको थियो । सातदोबाटोका रक्षकले राम्रोसँग क्लियर गर्न नसकेको बललाई ओलाओलेले पोस्टको दिशा दिएका थिए । जारी लिगमा ओलाआलेको यो छैटौँ गोल हो । धेरै गोल गर्ने खेलाडीको सुचीमा ओलाआले अग्रस्थानमा छन् । सातदोबाटोका अजयी मार्टिन्स र मछिन्द्रका सुनिल बलको समान समान ५ गोल गरेका छन् ।

यो हारसँगै मनाङको उपाधि यात्रामा गम्भिर धक्का लागेको छ । मनाङ ९ खेलमा १९ अंकसहित दोस्रो स्थानमा यथावत छ । जुन शीर्ष स्थानको मछिन्द्र भन्दा १ अंकले कम हो । मछिन्द्रले एक खेल कम खेलेको छ । सातदोबाटो भने ९ खेलबाट १२ अंक जोड्दै छैटौँ स्थानमो उक्लिएको छ ।

सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज मातृशोकका कारण पछिल्ला केही खेलमा क्लबबाट टाढा भएका थिए । त्यसबीचमा सातदोबाटोको प्रदर्शन पनि खस्किएको थियो । मुख्य प्रशिक्षक केसी आजको खेलबाट सातदोबाटोको टच लाइनमा फर्किएका थिए ।

मुख्य प्रशिक्षक केसीको पुनरागमन मैदान पनि देखिएको थियो । सातदोबाटोले सुरुबाटै गोलका लागि राम्रो अवसर सिर्जना गरेको थियो ।

शुक्रबारै सम्पन्न पहिलो खेलमा बिभागीय एपीएफले हिमालयन शेर्पालाई १–० ले हराएको थियो ।

प्रतिक्रिया