Pura Samachar
  • सरकारी नेतृत्वमा ‘सेलिब्रिटीज्म’

    प्रकाशित: २ महिना पहिले

    सरकारी नेतृत्वमा ‘सेलिब्रिटीज्म’

    -डा. सुरेन्द्र सिंह रावल

    हालै सर्वोच्च अदालतद्वारा रञ्जन कोइरालाको मुद्दामा भएको फैसलाबाट नेपाली समाज तरंगित भएको छ । फैसलामा संलग्न प्रधान न्यायाधीशलगायतका न्यायाधीशका बारेमा टिकाटिप्पणी र विरोध भएको देखिन्छ । कतिपयले न्यायाधीशबाट कानुनले दिएको स्वविवेकीय अधिकारको दुरुपयोग भएको, पार्टीको भागबण्डाबाट नियुक्त भएका न्यायाधीशले पार्टीको निर्देशनअनुरुप काम गरेको, फैसला गर्दा न्यायिक मन हुनुपर्नेमा कमलो चित्त देखाएको, आर्थिक लेनदेन अथवा व्यक्तिगत सम्बन्धका कारण यस्तो अप्रत्याशित निर्णय भएको हुनसक्ने अडकलबाजी र आरोप लगाएका छन् । हाल यो मुद्दा पुनः सर्वोच्च अदालतमा विचाराधीन रहेकाले यी आरोपहरु के कति सही या गलत छन् भन्ने सम्बन्धमा अदालतको निर्णयले नै दिशानिर्देश गर्ला । तर, यस लेखमा बहस गर्न लागेको विषय भने कतै यो घटना नेपालका सरकारी निकायहरुको नेतृत्व तहमा देखिन लागेको ‘सेलिब्रिटीज्म’का बाछिटा त हैन भनी केलाउनु हो ।

    नेपालका सरकारी निकायका नेतृत्व तहहरुमा ‘सेलेब्रेटी’ बन्ने लहर बढ्दो छ । यसको सुरु कहिलेबाट भयो यकिनका साथ भन्न त सकिँदैन तर केही वर्ष पहिले एकाध प्रहरी अधिकृतमा देखिएको यो प्रवृत्ति विस्तारै सेनालगायत अन्य निकायमा समेत पुगेको आभास भएको छ । झट्ट हेर्दा निकै राम्रो काम गरेको देखिने र मिडियामा वाहवाही हुने भएपछि यो प्रवृत्ति बिस्तारै लोकप्रिय भएको देखिन्छ । के सेलिब्रेटिज्म संगठन र राष्ट्रको लागि राम्रो हो? के यसले दीर्घकालमा राष्ट्रको हित गर्छ? अनि, के यो अनैतिक आचरण होइन? आदि अनेकौं प्रश्न हामी माझ उब्जिनु स्वाभाविकै हो ।

    सुशासन र भ्रष्टाचारविरुद्धको अभियानको प्रभावले हो या मिडिया तथा सामाजिक संजालको बढ्दो शक्तिको कारणले हो आजकाल कतिपय राष्ट्रसेवकमा गलत कार्यमा लाग्नबाट हच्किने प्रवृत्ति छ जुन सुशासनको लागि राम्रो लक्षण हो । तर, अनैतिक कार्यमा लाग्न धक मान्ने र काम गरेर देखाउनुपर्ने नैतिक दबाब खेपेकाहरुमध्येका केहीमा भने नयां प्रवृत्ति देखिएको छ – सेलिब्रिटी बन्ने । सायद सेलिब्रिटी बन्ने ध्याउन्नमा लाग्ने नेतृत्वको मानसिकता ‘मैले दाम नकमाए पछि नाम त कमाउनु नै प¥यो नत्र मैले गरेको यत्रो दुःखको के अर्थ’ भन्ने रहेको हुन सक्छ । अनि, लाग्न सक्छ आफ्नो नाम कमाउन गर्ने कामहरु त राम्रै हो, यो कुनै अनैतिक काम होइन । यथार्थमा, यस्तो कार्य आर्थिक लाभको उद्देश्यबाट प्रेरित नभए पनि चर्चा वा प्रचार मोहको परिणाम हो ।

    यहाँ एउटा नेतृत्व नाम कमाउने धुनमा संगठनको भूमिका र राष्ट्र हितमा भन्दा व्यक्तिवादी गतिविधिमा केन्द्रित हुनजान्छ । यसरी आत्मकेन्द्रित व्यक्तिले संगठनलाई निर्दिष्ट केही काम गर्ने र त्यसैलाई चर्चामा ल्याई आफु ‘हिरो’ हुन खोज्ने हुन्छ । संगठनले दिएको कार्यादेश र उसको ओहोदाले गर्नुपर्ने काम गर्दा पनि उसलाई चर्चा चाहिन्छ । त्यतिमात्र होइन उसले संगठनका कुन काम गरेमा ‘सेलिब्रिटी’ भइन्छ भन्ने उद्देश्यले कामको छनोट र प्राथमिकता निर्धारण समेत गर्ने सम्भावना रहन्छ ।

    सेलिब्रिटिज्ममा, सामान्य कामको पनि अनावश्यक चर्चा गराइन्छ र चर्चा बटुल्छ भने अप्रत्याशित निर्णय गर्न पनि लालायित रहन्छ । कुनै कामले उसलाई हाइलाइट गर्दैन तर त्यो संगठन वा राष्ट्रिय हितका दृष्टिले महत्त्वपूर्ण छ भने पनि त्यस्ता कार्य उसको प्राथमिकतामा नपर्न सक्छ । त्यतिमात्र होइन आफू चर्चित हुने गतिविधि गर्ने क्रममा उसले संगठनको जनशक्तिलगायत अन्य स्रोत साधनको दुरुपयोगसमेत गरिरहेको हुन्छ । आफू चर्चामा आउने चाहना नहुँदो हो अथवा कर्ममा विश्वास राखी काम गर्ने नियत हुँदो हो त यस्ता स्रोतसाधन संगठनका अन्य महत्त्वपूर्ण गतिविधिमा खर्च हुन्थे र संगठनको लक्ष्य प्राप्ति हुन्थ्यो – अर्थात्, नेतृत्वको समग्र गतिविधि राज्यले दिएको संगठनको भूमिकालाई प्रभावकारी ढंगले हासिल गर्ने दिशामा परिलक्षित हुन्थ्यो ।

    सेलिब्रिटी नेतृत्वको अर्को पक्ष, नेतृत्वमा म नै संगठन हो भन्ने गलत सोचको प्रभुत्व हुनु हो । यस्ता व्यक्तिमा संगठनको अस्तित्वमा मेरो अस्तित्व छ भन्ने होइन मेरै कारणले आज संगठन छ, म नभएको भए संगठन रहँदैन भन्नेसम्मको सोच गढेको हुन्छ । कतिपय अवस्थामा कार्यकाल समाप्त भइसकेपछि पनि उसैलाई नेतृत्वमा राख्नुपर्छ नत्र संस्था खतम् हुन्छ भन्नेसम्मको प्रचार गरिएको हुन्छ । स्थापित विधि र पद्धतिलाई भन्दा मनोगत निर्णय गर्ने, भिन्न मत राख्ने संगठनका कर्तव्यनिष्ठ सदस्यहरुलाई भन्दा आफ्नो विचारमा निःसर्त सहमत हुनेसँग निकट रहने प्रवृत्ति देखिन्छ । कतिपय अवस्थामा, ‘फेक इन्काउन्टर’ गरी वा अरुलाई बली चढाई लोकप्रियता हासिल गर्न सकिन्छ भने सो गर्न पछि नपर्ने हुन्छ ।

    झट्ट हेर्दा राजनीतिमा हुने ‘पपुलिज्म’ र सरकारी निकायमा हुने ‘सेलिबिेटिज्म’ उस्तैजस्तो पनि देखिन्छ । ‘पपुलिज्म’ झिनो वैचारिक सिद्धान्तलाई अंगीकार गर्दै स्थापित मान्यताका विरुद्ध लोकरिझाउने एजेण्डालाई लिएर अघि बढ्छ । यसले समग्र राष्ट्रको दीर्घकालीन हितलाई भन्दा पनि कुनै वर्ग विशेषको भलाइ एवं तत्कालीन लाभ र लोकप्रियतालाई प्रधान ठान्छ । उदाहरणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ब्राजिलका राष्ट्रपति जायर बोल्सेनारोलाई नै हेरौँ । उनीहरुको मुख्य ध्येय कसरी आफ्नो सीमित वर्ग (बेस) लाई खुसी तुल्याउन र लोकप्रियता हासिल गर्न सकिन्छ भन्ने देखिन्छ । डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किमसँग वार्ता गर्नुको अन्तरनिहित मनसाय आफूलाई ‘डिल मेकर’ साबित गर्नु रहेको कतिपय विश्लेषकहरुले बताएका छन् ।

    ‘पपुलिज्म’ भन्दा ‘सेलिब्रिटिज्म’ अझ बढी आत्मकेन्द्रित र व्यक्तिवादी हुन्छ । सेलिब्रिटी नेतृत्वले संस्थालाई राज्यले दिएको बृहत् भूमिकाभन्दा पनि आफू लोकप्रिय हुने एजेण्डालाई अघि सारेको हुन्छ । हुनत, पपुलिज्मजस्तै सेलिब्रिटी नेतृत्वहरुले केही राम्रा काम गरेका हुन्छन् तर त्यसको मुख्य लक्ष्य संस्थालाई बलियो बनाउने भन्दा पनि आफू नायक हुने लालसाबाट अभिप्रेरित भएको हुन्छ । अझ केहीमा त भित्री मनमा आफ्नो समुदाय वा पुर्खाको बिँडो थाम्ने रहर पनि लागेको हुन सक्छ ।

    कहिलेकाँही सेलिब्रिटिज्म र इमानदार नेतृत्वबीचको फरक छुट्याउन मुस्किल पर्न सक्छ । अमेरिकी सर्वोच्च अदालतका न्यायमूर्ति पटर स्टेवार्टबाट अश्लीलताको बारेमा व्यक्त चर्चित भनाइ ‘जब म हेर्छु अनि मलाई थाहा हुन्छ’ झैँ सेलिब्रिटिज्मलाई परिभाषित गर्न नसकिए पनि देखेर थाहा पाइहालिन्छ । सेलिब्रिटिज्म र इमानदार नेतृत्वबीचको मुख्य भिन्नता नेतृत्वको काम गराइको आशय के हो भन्नेले निक्र्योल गर्छ । एउटा काम व्यक्तिगत लोकप्रियताको कुनै लोभ नराखी संगठनभित्र आवश्यक सदस्यहरुलाई मात्र संलग्न गराई (निड–टु–नो बेसिसमा) र संस्थागत र राष्ट्रिय हित नै सर्वोपरी हो भन्ने सोच राखी गरिन्छ भने त्यो इमानदार नेतृत्व हो । होइन, आफ्ना काम गराईमा आफ्नो व्यक्तिगत चर्चा वा लोकप्रियताको स्वार्थ लुकेको हुन्छ अथवा कुनै न कुनैरुपमा संगठनका गतिविधिमा आफू देखा पर्ने चाहना राखी गरिएको हुन्छ भने त्यो सेलिब्रिटिज्म हो ।

    सेलिब्रिटिज्ममा लाग्नेले संगठनलाई समर्पण गर्नुपर्ने आफ्नो समय पनि व्यक्तिगत चर्चाको लागि बर्बाद गरिरहेको हुन्छ भने संगठनमा अरुको समय र स्रोतसाधनको पनि दुरुपयोग गरी अनावश्यक प्रचारमुखी कार्य गरिरहेको हुन्छ । काम गरेपछि चर्चा नै हुनु हुँदैन वा भागवत गीतामा भनिए झैँ ‘कर्म गर फलको आशा नगर’ भन्ने आदर्शलाई नै चरितार्थ गर्नुपर्छ भन्न खोजिएको होइन । त्यस्तो हुन सक्यो भने त निष्काम कर्म भई नै हाल्यो । कम्तीमा, आफ्नो व्यक्तिगत नामको लागि संगठनको भूमिका र आवश्यकताभन्दा बढी महत्त्व दिनु हुँदैन । खासमा त असल नेतृत्वलाई आफ्नो काम गर्न चर्चा आवश्यक नै हुँदैन । सस्तो चर्चा वर्षाको पानीको फोकाजस्तै हो जुन केही छिनमै हराएर जान्छ । यस्तो चर्चाले इतिहास रच्दैन । जबरजस्ती आफ्नो पालामा इतिहास लेखाउनेका इतिहास अरुका पालामा तिरस्कृत भएका उदाहरणहरु पनि प्रशस्त छन् ।

    लाक्षणिकरुपमा, गीतकार राजेन्द्र थापाका हरफ ‘फूलको बयानमा काँडाको पनि याद आउँछ’ सापट लिँदै संगठन र नेतृत्वको सम्बन्धलाई दर्शाउँदा अतिशयोक्ति नहोला । संगठनरुपी फूलको बयान हुँदा नेतृत्व रुपी काँडाको पनि केही चर्चा हुनु अन्यथा हुंँदैन । विडम्बना, यहाँ काँडाको बयानमा फूलको नै चर्चा ओझेलमा पर्ने अवस्था सिर्जना हुनेगरेको छ । अर्थात्, सेलिब्रिटिज्ममा व्यक्तिविशेषको चर्चामा संगठनलाई बिर्सने अवस्था सिर्जना भएको छ । कांँडाको मुख्य काम फूलको रक्षा गर्ने हो – कसैले नटिपोस् भनेर । तसर्थ, काँडाको प्रमुख दायित्व भनेको तीखालु र बिखालु भई फूल टिप्न आउनेहरुलाई जति होसियार गर्न सक्यो त्यति राम्रो न कि आफ्नै वयानमा रम्नु !
    माथि चर्चा गरिए झैं प्रधान न्यायाधीश प्रकरण सेलिब्रिटिज्मको अर्को एपिसोड नहोला र नहोस् पनि । तर, यो घटना जनताको करबाट प्रतिपालित सरकारी कर्मचारीहरु आफू हिरो हुनको लागि गर्ने गतिविधिको नयाँ शृङ्खला हो भने राष्ट्रलाई त्यसभन्दा ठूलो दुर्भाग्य अरु के होला? सेलिब्रिटिज्म सरकारी संरचनाहरुमा मात्र नभई राजनीतिक नेतृत्व, अर्धसरकारी तथा गैरसरकारी वृत्तमा पनि देखिन्छ । परन्तु, सरकारी निकाय र विशेष गरीराष्ट्र र जनताको रक्षाको लागि भर पर्नु पर्ने सुरक्षा संयन्त्रहरुमा यसको नकारात्मक प्रभाव व्यापक हुनुका साथै घातक समेत हुन्छ । हेर्दा सामान्य देखिए पनि यो प्रवृत्ति दीर्घकालमा राष्ट्रलाई प्रत्युत्पादक हुने भएकोले मुलुकका नेतृत्व वर्ग समयमै यसतर्फ सचेत र सजग हुन जरुरी छ ।

    प्रतिक्रिया