
काठमाडौं (हाम्रो खेलकुद) – मध्य गतिका बलर आरिफ शेखको धारिलो बलिङको सहयोगमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा प्रदेश १ माथि ६ विकेटको सहज जित हात पारेको छ । योसँगै पुलिसले समूह ए बाट अपराजित यात्राका साथ सेमिफाइनल खेल्ने भएको छ ।
१ सय २ रनको सामान्य विजयी लक्ष्य पुलिसले १३.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसको जितमा ओपनर कुशल भुर्तेलले २८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । पवन सरार्फ ४ र दीपेन्द्रसिंह ऐरी ऐरी २० रनमा आउट भए ।
फिर्दोस अन्सारीको पहिलो ओभरको चौथो बलमा कप्तान अंकित सुवेदीले कभरमा एक हातले उत्कृष्ट क्याच लिएपछि पवन पेभिलिएन फर्केका थिए । स्पिनर दीपेश कंडेलको बलमा ठूलो सट खेलेका दीपेन्द्र लङअफमा सुवेदीबाट क्याच भए । दीपेन्द्रले १३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । अनिल शाह २४ बलमा २ चौका र १ छक्कासहित २६ रनमा अविजित रहे । आरिफ शेख ४ बलमा २ चौका सहित १० रनमा अविजित रहे ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो । प्रदेश १ का ओपनर मिनाश थापाले थापाले ५९ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५९ रनको योगदान दिए । श्रवण यादव १० रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पुलिसका मध्य गतिका बलर आरिफ शेखले ३ ओभरमा २ मेडन सहित ३ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ३ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । मन्जित श्रेष्ठले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिए । करण केसी र सागर ढकालले १–१ विकेट लिए ।
समूह ए को विजेता पुलिसले पहिलो सेमिफाइनलमा मंगलबार समूह बी को उपविजेता बागमती प्रदेशसँग खेल्नेछ । समूह बी को विजेता एपिएफले समूह ए को उपविजेता त्रिभुवन आर्मी क्लबसँग दोस्रो सेमिफाइनल खेल्नेछ । फाइनल बुधबार हुनेछ ।
अंक तालिका
समूह ए बाट नेपाल पुलिस क्लब ४ खेलमा ४ मा नै जितका साथ शीर्षस्थानमा रह्यो । त्रिभुवन आर्मी क्लब ४ खेलमा २ मा जित र १ मा हार सहित ५ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गर्यो ।
सुदूर ४ खेलमा २ मा जित र २ मा हार सहित तेस्रो स्थानमा रह्यो । कर्णाली ४ खेलमा १ मा जित र ३ मा हार सहित चौथो स्थानमा रहँदै बाहिरियो । प्रदेश १ ले ३ खेलमा जित विहीन हुँदै १ अंकका साथ पुछारमा रहेर बाहिरियो । प्रदेश १ ले आर्मीसँगको खेल भिजेको आउट फिल्डको कारण अंक बाँडेको थियो ।
समूह बी मा एपिएफ समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गर्यो । एपिएफ ४ खेलमा अपराजित हुँदै ८ अंकका साथ शीर्ष स्थानमा रह्यो । बागमती ४ खेलमा ३ मा जित र १ मा हार सहित दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गर्यो ।
लुम्बिनी ४ खेलमा २ मा जित र २ मा हार सहित तेस्रो स्थानमा रह्यो । प्रदेश २ ले ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रह्यो । गण्डकी ४ खेलमा जित विहीन हुँदै पुछारमा रहेर बाहिरियो ।
प्रतिक्रिया