तनहुँ । ऋषिङ गाउँपालिका–१ झापुटार हुँदै वडा नं ६ सम्म पुग्ने झापुटार–चालिसे सडक तीन हप्तादेखि अवरुद्ध भएको छ । गत असार २९ गते र त्यसपछि परेको वर्षापछि आएको पहिराले उक्त सडक अवरुद्ध भएको हो ।
पहिराले विभिन्न पाँच ठाउँमा ठूला–ठूला ढुङ्गा झरेको छ भने लेदो माटो जम्मा भएको ऋषिङ–४ का वडाध्यक्ष भोजराज रानाभाटले जानकारी दिए । ”झापुटारभन्दा थोरै माथि पक्की रहेको बाटो नजिकबाट पाँच वटा ठूला ठूला पहिरा झरेका छन्,” उले भन्नुभयो, “कतिपय ठाउँमा त बाटोको निशाना नै नरहने गरी पहिरो झरेर समस्या भएको छ ।”
उनका अनुसार अधिकांश ठाउँको पहिरो हटाइसकिएको र अब एक ठाउँको मात्रै हटाउन बाँकी छ । “झापुटारबाट ठूलो मेशिनको प्रयोग गरेर बाटो सफा गरिए पनि ठाउँ–ठाँउमा पानीको निकास मिलाउनुपर्ने भएकाले बाटो पुनःसञ्चालन गर्न समय लागेको हो,” उनले भने ।
ऋषिङ–२ डाँडाखुँदीको उकालोको पहिरा हटाएर एक÷दुई दिनमा नै चालिसेसम्मको बाटो सफा गरिने अध्यक्ष रानाभाटले जानकारी दिए । तीन सातादेखि पहिराले सडक अवरुद्ध हुँदा सवारीमार्फत गाउँ जाने सर्वसाधारणलाई समस्या भएको छ तर पैदल हिँड्नका लागि भने कुनै समस्या छैन ।
प्रतिक्रिया