
काठमाडौं अलराउन्डर दीपेन्द्रसिंह ऐरीको घातक बलिङसँगै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा पुगेको छ । पुलिसले पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ५० रनले हराउँदै फाइनलमा स्थान पक्का गर्यो ।१ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५ रन बनायो । बागमतीका ओपनर आदिल खानले ३३ बलमा ३ चौकासहित सर्वाधिक २७ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले १६ बलमा ४ चौकासहित २३ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।ओपनर ईशान पान्डे एक रनमै क्याच आउट भएका थिए । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र आदिलले ४३ रनको साझेदारी गर्दै जितको आशा जगाए । दीपेन्द्रको नवौं ओभरको पहिलो बलमा ज्ञानेन्द्र ठूलो सट खेल्ने धुनमा डिप मिडविकेटमा अनिल शाहबाट क्याच आउट भए । त्यसपछि दीपेन्द्रले बागमतीको इनिङ ध्वस्त बनाएका थिए ।बागमतीले बाँकी १९ रन जोड्न ७ विकेट गुमाएपछि फाइनल सम्भावना सकिएको थियो । दीपेन्द्रले विपिन आचार्यलाई २ रनमा एलबीडब्लू आउट गरे । दीपेन्द्रले नन्दन यादवलाई ६, प्रतिश जि.सीलाई ४ र आदिल खानलाई आउट गर्दै जित नजिक पुर्याएका थिए ।रामनरेश गिरी २५ बलमा ३ चौकासहित २२ रनमा अविजित रहे । रिजन ढकाल १७ बलमा २ चौकासहित १५ रनमा अविजित रहे । पुलिसका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । स्पिनर सागर ढकालले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । आरिफ शेखले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । पुलिसका ओपनर पवन सरार्फले ५४ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५९ रनको योगदान दिए ।पवनले दुई जीवनदान पाएका थिए । त्यसको भरपुर सदुपयोग भने गर्न सकेनन् । स्पिनर तिलक भण्डारीको ११ औं ओभरको पाँचौं बलमा कभरमा सुमन सुनवारले पवनको ४३ रनमा ड्रप गरेका थिए । लगत्तै अर्को ओभरको तेस्रो बलमा विकेटकिपर लक्की कठायतले ४७ रनमा क्याच ड्रप गरेका थिए । पवनले ४८ बलमा अर्धशतक पूरा गरेका थिए ।
प्रतिक्रिया